१३ देशमा राजदूत पठाउने सरकारको तयारी, भारतदेखि साउदीसम्म को–को?
काठमाडौँ — सरकारले भारत, चीन, अमेरिका र बेलायतसहित १३ मुलुकका लागि राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रको अनुभव भएका व्यक्तिहरूलाई राजदूतका रूपमा अघि सारेको हो। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार सिफारिस गरिएका नाम अब संसदीय सुनुवाइका लागि पठाइनेछ। सुनुवाइपछि सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त गर्ने प्रक्रिया अघि बढ्नेछ र अग्रिमो आएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन्।
१३ देशका लागि प्रस्तावित राजदूत
भारत — डा. निश्चलनाथ पाण्डे
विदेश मामिला तथा परराष्ट्र नीतिका अध्येता। सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशकका रूपमा कार्यरत।
चीन — डा. कल्याणराज शर्मा
नेपाल–चीन सम्बन्धका विज्ञ, चीन अध्ययनकर्ता तथा अर्थशास्त्री। फुदान विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।
अमेरिका — चिरनजंग थापा
राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञ। सुरक्षा नीति, संकट व्यवस्थापन र कूटनीतिक क्षेत्रमा दुई दशकको अनुभव ।
बेलायत — गौरवशमशेर जंगबहादुर राणा
अवकाशप्राप्त प्रधानसेनापति। नेपाली सेनामा चार दशकभन्दा बढी सेवा गरेका र २०१२ देखि २०१५ सम्म प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए।
जापान — जिग्यानकुमार थापा
नेपाल–जापान सम्बन्ध, सार्वजनिक नीति तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका व्यक्ति।
इजरायल — सुरेशकुमार कर्ण
सूचना प्रविधि, बैंकिङ तथा आर्थिक नीतिको क्षेत्रमा तीन दशकभन्दा बढी कार्यकारी अनुभव।
स्पेन — प्राप्ति शेरचन
अन्तर्राष्ट्रिय विकास तथा साझेदारीसम्बन्धी क्षेत्रमा १५ वर्षको अनुभव। विश्व बैंक समूहअन्तर्गत IFC मा कार्यरत।
जर्मनी — शारू जोशी
श्रम आप्रवासन, लैंगिक समानता तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएकी नीति विज्ञ।
ओमान — डा. पद्माक्षी राणा
दिगो विकास, समावेशी नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यमा अनुभव भएकी विकास तथा उद्यमशीलता विशेषज्ञ।
मलेसिया — चूडामणि खरेल
शिक्षा तथा सार्वजनिक प्रशासनको क्षेत्रमा काम गरेका व्यक्ति।
दक्षिण कोरिया — प्रा.डा. संगम श्रेष्ठ
अन्तर्राष्ट्रिय सहकार्य, जलवायु उत्थानशीलता तथा जल सुरक्षा कूटनीतिका क्षेत्रमा अनुभव भएका प्राज्ञ तथा नीति विशेषज्ञ।
श्रीलंका — डा. मञ्चला झा
सुशासन तथा सार्वजनिक नीतिकी विशेषज्ञ। सत्य निरूपण तथा मेलमिलाप आयोगकी पूर्वआयुक्त।
साउदी अरब — गिरीबहादुर सुनार
समाजशास्त्री तथा विकाससम्बन्धी विज्ञ। अन्तर्राष्ट्रिय विकास, नीतिगत परामर्श तथा सामाजिक समावेशीकरणका क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव।
अब के हुन्छ?
राजदूतका रूपमा सिफारिस भएका १३ जनाको नाम संसदीय सुनुवाइमा जानेछ। सुनुवाइपछि सरकारले सम्बन्धित देशमा अग्रिमोका लागि नाम पठाउनेछ। सम्बन्धित मुलुकबाट स्वीकृति प्राप्त भएपछि मात्र राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुनेछ।
