न्यूनचापीय प्रणाली कमजोर भए पनि वर्षा रोकिएन, सोमबारदेखि मौसम खुल्ने
काठमाडौं — बंगालको खाडीबाट विकसित भएको न्यूनचापीय क्षेत्र कमजोर बन्दै गए पनि काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा जारी छ। बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका कतिपय क्षेत्रमा लगातार पानी परिरहेको छ भने गण्डकी र लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, डुबान र पहिरोको जोखिम बढेको छ।
यसअघि जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी नेपालमा शनिबारदेखि मौसममा सुधार आउने अनुमान गरेको थियो। काठमाडौं उपत्यकामा पनि शनिबारपछि भारी वर्षा कम हुने पूर्वानुमान थियो। तर, उपत्यकामा रातिदेखि नै वर्षा भइरहेको छ।
पछिल्लो १२ घण्टामा ललितपुरको गोदावरीमा ४९ मिलिमिटर, खोकनामा ४०.६ मिलिमिटर र खुमलटारमा ३१.४ मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौंको चन्द्रागिरीमा ५२, थानकोटमा ४१, नागार्जुनमा ३३ र कीर्तिपुरमा ३२ मिलिमिटर वर्षा भएको छ। भक्तपुरको चाँगुनारायणमा पछिल्लो २४ घण्टामा २२ मिलिमिटर पानी परेको छ।
किन भइरहेको छ वर्षा?
मौसमविद्का अनुसार अहिलेको वर्षा कुनै नयाँ मौसमी प्रणाली विकास भएका कारण भएको होइन। बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्दै नेपाल नजिक आइपुगेपछि त्यसको प्रभाव कायमै रहेको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार जमिनमा प्रवेश गरेपछि न्यूनचापीय प्रणाली कमजोर भए पनि नेपाल नजिक रहेको कारण त्यसको केही प्रभाव अझै देखिएको छ।
‘न्यूनचापीय क्षेत्र अहिले नेपाल नजिकै छ। भारतको उत्तर प्रदेश आसपास पुगेको यो प्रणाली जमिनमा आएपछि कमजोर हुन्छ, तर नेपाल नजिक रहेकाले केही प्रभाव देखिएको हो,’ अधिकारीले बताए।
त्यसका साथै बंगालको खाडी र अरब सागर दुवै क्षेत्रबाट जलवाष्पयुक्त हावा नेपालतर्फ प्रवेश गरिरहेको छ। अहिले वर्षा भइरहेका क्षेत्रमै यस्तो हावा बढी केन्द्रित हुँदा पानी पर्ने क्रम जारी रहेको मौसमविद्को भनाइ छ।
मधेसको पश्चिमी भाग, बागमतीको चितवन, लुम्बिनीको पूर्वी क्षेत्र तथा गण्डकीका पहाडी र तराई भूभागमा जलवाष्पयुक्त हावाको प्रभाव बढी देखिएको छ। चितवन, बारा–पर्साको पश्चिमी भाग, रूपन्देही, कपिलवस्तुको पूर्वी क्षेत्र तथा गण्डकीका नवलपरासी पूर्व–पश्चिम, तनहुँ र कास्कीको तल्लो क्षेत्रमा यसको प्रभाव रहेको बताइएको छ।
यसैबीच पश्चिमी क्षेत्रमा न्यूनचापीय रेखा औसत अवस्थाकै आसपास रहेकाले बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावालाई माथि उठाउन सहयोग पुगेको छ। यही प्रक्रियाले विभिन्न क्षेत्रमा वर्षा गराइरहेको मौसमविद्हरू बताउँछन्।
कहिलेदेखि मौसममा सुधार?
मौसमविद् अधिकारीका अनुसार काठमाडौंमा आइतबार ठूलो वर्षाको सम्भावना छैन। दिउँसोसम्म छिटपुटदेखि हल्का तथा सामान्य वर्षा हुन सक्ने भए पनि अपराह्नपछि वर्षाको क्रम घट्दै जानेछ।
राति र बिहान परेको पानीका कारण केही क्षेत्रमा दिउँसोसम्म जोखिम कायम रहन सक्ने भएकाले सतर्क रहनुपर्ने उनको सुझाव छ।
मौसमविद्का अनुसार सोमबारदेखि भने काठमाडौंसहित देशका अधिकांश भागमा मौसम क्रमशः सुधार हुँदै जानेछ।
