मौसम प्रतिकूल बनेपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक परमिट रोकियो
मुस्ताङ । सम्भावित विपद् र यात्रामा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पर्यटकका लागि प्रवेशाज्ञा (परमिट) वितरण अस्थायी रूपमा रोकेको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पोखराको निर्णयअनुसार मौसममा सुधार नआएसम्म उच्च हिमाली तथा पहाडी क्षेत्रमा जाने पर्यटकलाई परमिट नदिइने भएको हो।
एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तका अनुसार मौसम पूर्वानुमानमा भारी वर्षा तथा हिमपातको सम्भावना देखिएपछि पर्यटकको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना र मौसम पूर्वानुमान महाशाखाको चेतावनीलाई आधार बनाएर परमिट सेवा रोकिएको उनले जानकारी दिए।
निर्णयपछि अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत मुस्ताङ, मनाङ, लमजुङ, म्याग्दी तथा कास्कीका माथिल्ला क्षेत्रमा भ्रमण गर्ने पर्यटकका लागि बिहीबारदेखि अनलाइन परमिट सेवा बन्द गरिएको छ।
यद्यपि परमिट सेवा बन्द हुनुअघि नै सम्बन्धित क्षेत्रमा पुगेका पर्यटकलाई आवश्यक सहजीकरण गरिने एक्यापले जनाएको छ। त्यस्ता पर्यटक कार्यालयमा भौतिक रूपमा उपस्थित भएमा निर्धारित शुल्क लिएर परमिट उपलब्ध गराउने व्यवस्था मिलाइने गुप्तले बताए।
लगातारको वर्षाका कारण बाढी, पहिरो तथा नदी कटानबाट सडक अवरुद्ध हुनसक्ने र यात्रामा थप जोखिम बढ्नसक्ने भएकाले अनलाइन प्रणालीमार्फत परमिट जारी गर्ने कार्य रोकिएको हो। मौसम सामान्य अवस्थामा फर्किएपछि नियमित रूपमा परमिट सेवा पुनः सञ्चालन गरिने एक्यापले जनाएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्रका मुस्ताङ, मनाङ, लमजुङ, कास्कीका माथिल्ला भूभाग तथा म्याग्दीको सिख, घारा र नारच्याङ क्षेत्रमा भ्रमण गर्ने पर्यटकले अनिवार्य रूपमा प्रवेशाज्ञा लिनुपर्ने व्यवस्था छ।
एक्यापका अनुसार सार्क राष्ट्रका पर्यटकका लागि परमिट शुल्क १ हजार रुपैयाँ र तेस्रो मुलुकका पर्यटकका लागि ३ हजार रुपैयाँ निर्धारण गरिएको छ।
