पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ
काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरी स्रोतका अनुसार राणालाई पक्राउ गरी टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याइएको हो। पक्राउको कारणबारे भने प्रहरीले अहिलेसम्म औपचारिक रूपमा जानकारी सार्वजनिक गरेको छैन।
राणा २०७५ पुसमा नेपालको प्रधानन्यायाधीश नियुक्त भएका थिए। प्रधानन्यायाधीशका रूपमा कार्यरत रहँदा उनी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषद्मा आफ्नो पक्षका व्यक्तिलाई नियुक्त गर्न दबाब दिएको विषयमा विवादमा परेका थिए। त्यसक्रममा उनका जेठानलाई मन्त्री बनाइएको थियो।
त्यसपछि सर्वोच्च अदालतका न्यायाधीशहरूले राणाको राजीनामा माग गर्दै आन्दोलन गरेका थिए। न्यायाधीशहरूले उनको इजलास बहिष्कार गर्नुका साथै उनले तोकेका मुद्दा नहेर्ने निर्णयसमेत गरेका थिए। पछि सर्वोच्चमा मुद्दाको पेसी तोक्ने प्रणालीमा गोलाप्रथा लागू भएपछि उक्त विवाद केही मत्थर भएको थियो।
२०७८ फागुनमा राणाविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। प्रस्ताव दर्तासँगै उनी निलम्बनमा परेका थिए।
महाअभियोग सिफारिस समितिले राणासँग बयान लिनुका साथै विभिन्न तथ्य तथा प्रमाण संकलन गरी छानबिन गरेको थियो। समितिले उनीमाथि महाअभियोग लगाउन पर्याप्त आधार रहेको निष्कर्षसमेत निकालेको थियो।
तर संसदबाट महाअभियोग प्रस्तावमाथि अन्तिम निर्णय हुन सकेन। २०७९ मंसिरमा संसदका महासचिवले प्रस्ताव निष्क्रिय भएको भन्दै सर्वोच्च अदालतलाई पत्र पठाएका थिए। उक्त पत्रविरुद्ध सर्वोच्चमा रिट परेको थियो। त्यससम्बन्धी विवादमा सर्वोच्च अदालतले निर्णय गरिसकेको छ।
