बाढीपहिरोको असर विद्युत् प्रणालीमा, १ हजार ३०३ मेगावाटसम्म प्रभावित
काठमाडौं — निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुर्याएको छ। प्रसारण लाइनमा फाल्ट आउनुका साथै जलविद्युत् आयोजना र सबस्टेसनका उपकरणमा समस्या आएपछि विद्युत् आपूर्ति प्रभावित भएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार पोखरा, बुटवल, हेटौंडा र काठमाडौं उपत्यकासहितका क्षेत्रमा विद्युत् प्रणाली प्रभावित भएको छ। विभिन्न समयमा लाइन, उत्पादन र लोडमा देखिएको अवरोध जोड्दा करिब १ हजार ३०३ मेगावाट बराबरको प्रणाली प्रभावित भएको मन्त्रालयले जनाएको छ।
तर, उक्त संख्या एकै समयमा विद्युत् आपूर्ति बन्द भएको परिमाण भने होइन। फरक–फरक स्थान र समयमा भएका उत्पादन, प्रसारण तथा लोड अवरोधको कुल योग हो।
पोखरा क्षेत्रमा सबैभन्दा ठूलो असर
बाढीपहिरोबाट पोखरा क्षेत्रको विद्युत् प्रणालीमा तुलनात्मक रूपमा ठूलो प्रभाव परेको छ। कुस्मा–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा फाल्ट आएपछि करिब २०० मेगावाट विद्युत् प्रभावित भएको छ।
त्यसैगरी रौघाट–दाना लाइनका दुवै सर्किटमा समस्या आएपछि करिब १५५ मेगावाट बराबरको प्रणाली प्रभावित भएको छ।
बाढीका कारण कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी र मोदीलगायतका जलविद्युत् आयोजनाको उत्पादन तथा विद्युत् आपूर्तिमा पनि असर परेको छ। पोखरा आसपासका आयोजनाबाट मात्रै ४०० मेगावाटभन्दा बढी क्षमतामा प्रभाव परेको जनाइएको छ।
रौघाट क्षेत्रमा न्यू बुटवल–कुस्मा २२० केभी लाइनमा फाल्ट आएपछि थप करिब ११० मेगावाट प्रभावित भएको थियो।
बुटवल र हेटौंडामा पनि अवरोध
बुटवल क्षेत्रमा न्यू भारतपुर–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा रुख ढलेपछि विद्युत् प्रणालीमा समस्या आएको थियो। उक्त लाइन पुनः चार्ज गरिसकिएको विवरणमा उल्लेख छ।
चापर–पथलैया १३२ केभी लाइन अवरुद्ध भएपछि कावासोती सबस्टेसनमा करिब एक घण्टा लोड कटौती गरिएको थियो।
हेटौंडा क्षेत्रमा माण्डु ६६ केभीमा बाढी पसेपछि करिब ३२ मेगावाट विद्युत् प्रभावित भएको छ। त्यस्तै कावासोती–भरतपुर १३२ केभी लाइनअन्तर्गत भरतपुर सबस्टेसनमा सीभीटीमा समस्या आएपछि विद्युत् आपूर्तिमा असर परेको छ।
सिमरा सबस्टेसनमा करिब २० मेगावाट तथा अमलेखगञ्ज, परवानीपुर र वीरगञ्ज क्षेत्रका उद्योगमा करिब ८० मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ। काम्ने सबस्टेसन तथा आसपासका उद्योगतर्फ पनि करिब २५ मेगावाटको असर परेको जनाइएको छ।
काठमाडौं उपत्यकामा छोटो समय अवरोध
बाढीपहिरोको प्रभाव काठमाडौं उपत्यकामा समेत देखिएको छ। पाटन र टेकु क्षेत्रमा केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको थियो।
पाटन सबस्टेसनमा बिहान करिब ९ बजेदेखि ९ः१० बजेसम्म तथा टेकु क्षेत्रमा पनि सोही अवधिमा विद्युत् अवरोध भएको विवरणमा उल्लेख छ।
पाटन क्षेत्रमा पथलैया लाइन र केएल–१ स्युचाटार ६६ केभी लाइन एकैपटक ओभरलोड हुँदा समस्या उत्पन्न भएको बताइएको छ। नियमित आपूर्तिमा कठिनाइ आएपछि आपत्कालीन आपूर्ति प्रणाली प्रयोग गरिएको थियो।
विभिन्न क्षेत्रमा लोड कटौती
प्रसारण लाइन तथा सबस्टेसनमा आएको समस्याका कारण केही क्षेत्रमा लोड व्यवस्थापनका लागि विद्युत् कटौतीसमेत गरिएको छ।
कावासोती सबस्टेसनमा करिब २० मेगावाट र हरदी सबस्टेसनमा २५ मेगावाट लोड कटौती गरिएको थियो। सुनवल–मैनिया तथा बुटवल क्षेत्रका उद्योगमा करिब ५० मेगावाट, सिमरा क्षेत्रमा २० मेगावाट र अमलेखगञ्ज, परवानीपुर तथा वीरगञ्जका उद्योगमा करिब ८० मेगावाट लोड कटौती गरिएको जनाइएको छ।
क्षतिग्रस्त संरचना मर्मतमा प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार क्षतिको प्रारम्भिक विवरण संकलन गरेर प्रभावित क्षेत्रमा प्राविधिक तथा मर्मत टोली परिचालन गरिएको छ।
उनका अनुसार सम्भव भएका स्थानमा वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण र वितरण संरचना प्रयोग गरेर विद्युत् आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको छ। क्षतिको अवस्था मूल्याङ्कन गरी आवश्यक उपकरण, सामग्री र जनशक्ति परिचालन गरेर आपूर्ति पुनःस्थापनाको काम अघि बढाइएको छ।
भारी वर्षा र बाढीपहिरोका कारण कतिपय प्रभावित क्षेत्रमा पुग्ने सडक तथा पहुँचमार्ग अवरुद्ध भएकाले प्राविधिक टोली परिचालनमा कठिनाइ भएको प्राधिकरणले जनाएको छ। पहुँचमार्ग खुलेसँगै थप जनशक्ति र उपकरण परिचालन गरी मर्मत कार्यलाई तीव्रता दिने तयारी छ।
प्राधिकरणले विपद्का कारण केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भए पनि उपलब्ध वैकल्पिक माध्यम प्रयोग गरी सकेसम्म छिटो नियमित आपूर्ति पुनःस्थापित गर्ने प्रयास भइरहेको जनाएको छ।
यसैबीच, विद्युत् संरचनामा क्षति पुगेका स्थानमा ढलेका तार, पोल तथा अन्य उपकरण नजिक नजान र विपद्को अवस्थामा सावधानी अपनाउन प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ।
