हिम्लुङमा बेपत्ता आरोहीको खोजी, उद्धार टोलीसहित हेलिकप्टर परिचालन
मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा पहिरो गएपछि सम्पर्कविहीन भएका १० जनाको खोजी तथा उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ।
स्थानीय प्रशासनका अनुसार पहिरो गएको क्षेत्रमा खोजी गर्न प्रभु हेलिकप्टरबाट चार जना उद्धारकर्मी पठाइएको छ। थप तीन जना उद्धारकर्मीलाई कैलाश हेलिकप्टरमार्फत घटनास्थलतर्फ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मनाङका इन्स्पेक्टर विनोद बोहराका अनुसार हिम्लुङ आरोहणमा गएका १० जना पहिरोपछि सम्पर्कविहीन भएको सूचना प्राप्त भएको हो। यद्यपि उनीहरूको अवस्थाबारे हालसम्म यकिन विवरण भने प्राप्त हुन सकेको छैन।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सम्पर्कविहीन भएकाहरू नेपाली नागरिक रहेको प्रारम्भिक जानकारी छ। घटनास्थलमा उद्धार तथा खोजी कार्यलाई तीव्र बनाइएको छ।
