हिमलुङ हिमालमा हिमपहिरो, आरोहणमा गएका १० जना सम्पर्कविहीन
काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ मा पर्ने हिमलुङ हिमालमा हिमपहिरो गएको छ। हिमपहिरोमा परेर आरोहण टोलीका १० जना सम्पर्कविहीन भएका छन्।
हिमलुङ हिमाल आरोहणका लागि ९ जना आरोहीसँगै १३ जना आरोहण सहयोगी गएका थिए। सम्पर्कविहीन भएकाहरू सबै नेपाली नागरिक रहेको प्रारम्भिक विवरण छ।
घटनापछि बेपत्ता भएकाहरूको खोज तथा उद्धारका लागि काठमाडौंँबाट हेलिकप्टर मनाङतर्फ पठाइएको छ। उद्धार टोलीले घटनास्थलमा पुगेर खोजी कार्य अघि बढाउने तयारी गरेको छ।
हिमपहिरोका कारण मानवीय तथा अन्य कति क्षति भयो भन्नेबारे भने अहिलेसम्म यकिन विवरण सार्वजनिक भएको छैन।
सशस्त्र प्रहरीका डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घटनासम्बन्धी थप विवरण संकलन भइरहेको छ। उद्धार कार्यपछि मात्रै घटनाको क्षति र सम्पर्कविहीनको अवस्थाबारे थप जानकारी आउनेछ।
