१० घन्टापछि पूर्व प्रधानन्यायाधीश राणा परिवारको जिम्मामा
काठमाडौं । प्रहरीले घरबाट नियन्त्रणमा लिएका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा करिब १० घन्टापछि छुटेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएका राणालाई परिवारको जिम्मा लगाइएको एसपी रामेश्वर कार्कीले जानकारी दिएका छन्।
प्रहरीले आइतबार बिहान करिब ३ बजे महाराजगन्जस्थित राणाको निवासबाट उनलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगिएको थियो।
कार्यालय पुर्याएपछि राणालाई कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखिएको थियो। करिब १० घन्टा कार्यालयमा राखेपछि उनलाई ‘सुरक्षित स्थानमा पठाइएको’ प्रहरीले जनाएको छ।
एसएसपी खड्काका अनुसार राणालाई उनले उपयुक्त ठानेको सुरक्षित स्थानमा लगिएको हो। साथै, उनको सुरक्षाका लागि प्रहरी परिचालन बढाइएको उनले बताए।
तर प्रहरीले राणालाई अहिले कुन स्थानमा राखिएको छ भन्नेबारे खुलाएको छैन।
राणालाई सुरक्षा खतरा रहेको भन्दै नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। यद्यपि, उनीमाथि कस्तो सुरक्षा खतरा रहेको हो भन्नेबारे प्रहरीले स्पष्ट जानकारी दिएको छैन।
