मनाङको हिमपहिरोमा मृतकको संख्या चार पुग्यो, १२ जना अझै सम्पर्कविहीन
मनाङ । नार्फाभूमि गाउँपालिका–५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। खोजीका क्रममा सोमबार थप दुई जनाको शव फेला परेपछि मृतक संख्या चार पुगेको हो।
नेपाल राष्ट्रिय पर्वतीय गाइड संघका अनुसार हिमलुङ बेसक्याम्पमा आइतबार बिहान हिमपहिरो खसेपछि हराइरहेका व्यक्तिको खोजी गर्ने क्रममा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो।
यसअघि आइतबार नै छेवी भोटे र पासाङ भोटेको शव फेला परेको थियो। उनीहरूको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइएको छ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार दुईवटा पर्यटकीय कम्पनीको बेसक्याम्प निर्माणका लागि हिमलुङ क्षेत्रमा पुगेका २७ जना कामदार हिमपहिरोमा परेका थिए।
तीमध्ये ११ जना सुरक्षित रूपमा सदरमुकाम फर्किसकेका छन्। चार जनाको शव फेला परिसकेको अवस्थामा अझै १२ जना सम्पर्कविहीन छन्।
सम्पर्कविहीन रहेकाहरूको खोजी तथा उद्धारका लागि टोली परिचालन गरिएको छ। हिमपहिरो प्रभावित क्षेत्रमा खोजी कार्य जारी रहेको जनाइएको छ।
