राष्ट्रपति पौडेलकी छोरी संज्ञा कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी तथा नेपाली कांग्रेसकी नेतृ संज्ञा पोखरेल पौडेल कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा पराजित भएकी छन्।
कास्की क्षेत्र नम्बर १ बाट खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएकी संज्ञाले २८९ मत प्राप्त गरे पनि प्रतिनिधिका रूपमा निर्वाचित हुन सकिनन्।
खुला महिलातर्फ चार जना महाधिवेशन प्रतिनिधि चयन गर्न ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। उक्त निर्वाचनबाट रेनुका गुरुङ, निसा मल्ल ठकुरी, डाल्डादेवी भुजेल र कोपिला रानाभाट निर्वाचित भएका छन्।
यसअघि शेरबहादुर देउवा कांग्रेस सभापति रहेका बेला संज्ञाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूचीमा समावेश गरिएको थियो। राष्ट्रपति पौडेलकी छोरीलाई समानुपातिक उम्मेदवार बनाइएको भन्दै आलोचना भएपछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी थिइन्।
