बाढीको भेलमा जीवन खोज्दै उद्धारकर्मी
काठमाडौं । ‘बाँचे देशकै सेवा गर्छु, मरे देशकै लागि मर्छु’—नेपाली सेनामा प्रवेश गर्दा लिएको यही शपथले अभिषेक शाहीलाई विपद्को कठिन घडीमा पनि आफ्नो कर्तव्यबाट पछि हट्न दिएन।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उनीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य उद्धार टोली प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा निरन्तर खटिए। बाढीले बस्ती, सडक, पुल र जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएपछि बेपत्ता नागरिकको खोजी उनीहरूको मुख्य जिम्मेवारी बन्यो।
बाढी आएको दिन चारैतिर पानी, लेदो र गेग्रानको कहालीलाग्दो अवस्था थियो। आफन्त बेपत्ता भएकाहरू उद्धार टोलीसँग आफ्ना प्रियजन छिटो खोजिदिन आग्रह गरिरहेका थिए। जोखिम उच्च हुँदाहुँदै पनि उद्धारकर्मीहरू रोकिएनन्।
अभिषेकका अनुसार त्यतिबेला आफ्नै सुरक्षाभन्दा अरूको जीवन जोगाउनु प्राथमिकता थियो। केही सेकेन्डको ढिलाइले समेत कसैको जीवन गुम्न सक्ने भएकाले हरेक क्षण महत्वपूर्ण थियो।
बाढीको बहाव बढिरहेको थियो। कतिपय ठाउँमा हिँड्नसमेत कठिन थियो भने जलविद्युत् आयोजनाका सुरुङहरू लेदो र गेग्रानले भरिएका थिए। कतिपय स्थानमा पानी निकालेर बाटो खुलाउन केही दिन लाग्यो। त्यसपछि मात्र उद्धार टोली सुरुङभित्र प्रवेश गर्न सक्ने अवस्था बनेको थियो।
उद्धारका क्रममा हाते रेडियो उनीहरूको महत्वपूर्ण सञ्चार माध्यम थियो। मोबाइल नेटवर्क नचल्ने ठाउँमा रेडियोमार्फत जोखिम र आवश्यक सूचनाहरू आदानप्रदान गरिन्थ्यो। कुनै पनि बेला अर्को बाढी आउन सक्ने चेतावनी हुँदाहुँदै टोली प्रभावित क्षेत्रतर्फ जानुपर्ने अवस्था थियो।
तालिमले बढाएको आत्मविश्वास
उद्धारमा संलग्न दीपक राईका अनुसार विपद्सम्बन्धी तालिम र नियमित अभ्यासले कठिन परिस्थितिमा काम गर्ने आत्मविश्वास दिएको थियो। आवश्यक सीप, उपकरण र कर्तव्यप्रतिको प्रतिबद्धताले जोखिमपूर्ण अवस्थामा समेत उद्धार कार्य अघि बढाउन सहयोग पुर्याएको उनको भनाइ छ।
सुरुङभित्रको अवस्था झन् कठिन थियो। अँध्यारो वातावरणमा टर्चको सहायताले जीवित व्यक्तिको खोजी गर्नुका साथै मृत्यु भएका व्यक्तिका शवसमेत बाहिर निकाल्नुपर्ने अवस्था थियो। कतिपय शव सडिसकेको अवस्थामा भेटिन्थे। दुर्गन्धका कारण उद्धारकर्मीलाई शारीरिक रूपमा समेत कठिनाइ हुने गरेको थियो।
यस्ता कठिनाइका बीच पनि उद्धार टोलीले आफ्नो काम जारी राख्यो। बेपत्ता आफन्तको खोजीमा रहेका परिवारबाट तत्काल उद्धार गर्न नसकेको भन्दै गुनासो आउने गरे पनि टोलीले उपलब्ध स्रोत र जोखिमको अवस्थाअनुसार खोजी जारी राखेको थियो।
प्रमोद केसीका लागि पनि बाढीपछिका प्रारम्भिक दिन अत्यन्त चुनौतीपूर्ण रहे। कतिपय सुरुङमा सात फिटसम्म लेदो जमेको थियो। सडक र पुल बगेका कारण पैदल हिँडेरै बेपत्ताको खोजी गर्नुपर्ने अवस्था थियो। घाइतेको उद्धारसँगै आफ्नै सुरक्षाको पनि ख्याल गर्नुपर्ने दोहोरो चुनौती थियो।
सुरुङभित्र पनि जारी रह्यो खोजी
भोटेकोशी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा बेपत्ता भएका व्यक्तिको खोजीलाई प्राथमिकता दिइयो। सुरुङभित्रको जोखिमका बाबजुद नेपाली सेना र विदेशी विज्ञ टोलीले समेत सहकार्य गर्दै उद्धार अभियान अघि बढाए।
लाङटाङ जलविद्युत् आयोजनामा बाढी आएको दिन नै हवाई निरीक्षण गरिएको थियो। त्यसपछि भारतीय विज्ञ टोलीसँगको सहकार्यमा खोज तथा उद्धार सुरु गरिएको थियो। चिलिमे जलविद्युत् आयोजनामा पनि प्रारम्भिक निरीक्षणपछि भारतीय विज्ञ टोलीको सहभागितामा उद्धार अघि बढ्यो।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा चिनियाँ विज्ञ टोलीसँग सहकार्य गरेर खोजी गरियो। लामो प्रयासपछि एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गर्न सफल भएको नेपाली सेनाले जनाएको छ। त्रिशूली–३ ‘ए’ आयोजनाबाट पनि दुई कर्मचारीलाई जीवितै उद्धार गरिएको थियो।
यी सफल उद्धारका क्षणले कठिन परिस्थितिमा खटिएका टोलीलाई ठूलो उत्साह दिएको थियो।
सडक नपुगेका ठाउँमा ड्रोनको प्रयोग
बाढीका कारण सडक सम्पर्क विच्छेद भएका कतिपय क्षेत्रमा स्थलमार्गबाट पुग्न सम्भव थिएन। त्यस्ता स्थानमा नेपाली सेनाले ड्रोनको प्रयोग गरी दुर्गम बस्तीमा खाद्यान्न तथा राहत सामग्री पुर्याएको थियो।
रसुवा र नुवाकोटका विभिन्न प्रभावित क्षेत्रमा पैदल गस्तीमार्फत खोज तथा उद्धार जारी राखिएको थियो। त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायतका क्षेत्रमा आधार बनाएर उद्धार टोली परिचालन गरिएको थियो।
नेपाली सेनाका अनुसार हवाई साधनमार्फत प्रभावित क्षेत्रबाट चार हजार २४२ जनाको उद्धार गरिएको थियो। उद्धार गरिएकामध्ये तीन हजार ९५९ नेपाली र २८३ विदेशी नागरिक रहेका थिए।
भोटेकोशीको बाढीले रसुवादेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्व र पश्चिमसम्म प्रभाव पारेपछि आठ हजार २०० भन्दा बढी नेपाली सैनिक प्रत्यक्ष रूपमा खोज, उद्धार तथा राहत कार्यमा परिचालन भएका थिए।
बाढीपछि उद्धार टोलीका लागि यो अभियान केवल जिम्मेवारी पूरा गर्ने काम मात्र रहेन। जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेर बेपत्ताको खोजी गर्नु, जीवितलाई सुरक्षित स्थानमा ल्याउनु र मृतकको शव परिवारसम्म पुर्याउनु उनीहरूको सेवाको अर्को महत्वपूर्ण मोर्चा बन्यो।
