हिमलुङ हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुग्यो, एक अझै सम्पर्कविहीन
मनाङ — मनाङको नार्पाभूमि गाउँपालिका–५ अन्तर्गत हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ। घटनामा ओखलढुंगाका एक व्यक्ति अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बेपत्ता हुनेमा ओखलढुंगा स्थायी घर भएका ३८ वर्षीय पासाङ नुरी शेर्पा छन्। उनको स्थायी ठेगाना नागरिकताको विवरणका आधारमा खुलेको प्रहरीले जनाएको छ। उनको खोजी कार्य जारी रहेको छ।
हिमपहिरोमा मृत्यु हुनेमध्ये संखुवासभाका छेवि भोटे र पासाङ भोटे, गोरखाका विरेन्द्र गुरुङ र आश गुरुङ, खोटाङका घनश्याम राई, लक कुमार गुरुङ र सुरज राई रहेका छन्।
त्यस्तै रुकुम पूर्वका कलम बुढा, काभ्रेपलाञ्चोकका बिर्ख ध्वज तामाङ र जगत तामाङ, सिन्धुपाल्चोकका उर्ख ध्वज बोहोरा, ओखलढुंगाका प्रेम तामाङ र दोलखाका कृति बहादुर तामाङको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी, वतन र उमेर खुल्न नसकेका ङिमा दोर्जे तामाङ र सन्तवीर तामाङका शवसमेत फेला परेको प्रहरीले जनाएको छ।
२७ जनाको टोली हिमलुङ पुगेको थियो
प्रहरीका अनुसार गत असोज २ गते काठमाडौंँबाट हिमलुङ क्षेत्रमा बेस क्याम्प स्थापना गर्न हिमालय होलिडे कम्पनीका २१ जना र इमेजिङ नेपाल कम्पनीका ६ जना गरी २७ नेपाली पुरुष पुगेका थिए।
उनीहरू असोज ११ गते राति करिब १२ः४५ बजे गएको हिमपहिरोमा परेका थिए। घटनापछि ११ जना सकुशल रहेको पुष्टि भए पनि १६ जना सम्पर्कविहीन भएका थिए।
सम्पर्कविहीनमध्ये हालसम्म १५ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने पासाङ नुरी शेर्पाको अवस्था अझैअज्ञात रहेको प्रहरीले जनाएको छ।
बेपत्ता शेर्पाको खोजीलाई प्रहरीले निरन्तरता दिएको छ।
