बाढीपहिरोले बिगारेको बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र
म्याग्दी — मनसुनजन्य बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको चीन–भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक मर्मत तथा पुनः सञ्चालनको काम तीव्र पारिएको छ।
असोज दोस्रो साताको लगातार वर्षापछि आएको बाढी र पहिरोका कारण पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि चीनको कोरला नाकासम्मको करिब २०२ किलोमिटर सडकखण्डमा ५० भन्दा बढी स्थान प्रभावित भएका थिए। कालीगण्डकी नदीले मात्रै करिब १० ठाउँमा सडक कटान गरी क्षति पुर्याएको थियो।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरसम्मको करिब १२ किलोमिटर क्षेत्रमा अहिले तीव्र गतिमा मर्मत भइरहेको छ। आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी काम अघि बढाइएको उनले बताए।
वर्षा रोकिएलगत्तै असोज १२ गतेदेखि कोरला नाकातर्फबाट भुरुङ–तातोपानीसम्मको सडक मर्मत गरिएको थियो। त्यस्तै मालढुङ्गातर्फबाट बेनी–बैसरी हुँदै कुनौटासम्मको करिब २५ किलोमिटर सडकको मर्मत पनि सोमबार साँझसम्म पूरा गरिएको आयोजनाले जनाएको छ।
कुनौटामा सडक पुनःस्थापना चुनौतीपूर्ण
कुनौटा क्षेत्रमा कालीगण्डकी नदीको बाढीले करिब २५० मिटर सडक कटान गरेको छ। सडक बगाएपछि उक्त क्षेत्रमा पैदल आवतजावतसमेत कठिन बनेको थियो।
राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह आसपास सडकको वैकल्पिक मार्ग निर्माण गर्नुपरेको थियो। सुरुआती चरणमा आवश्यक इन्धनको अभावसमेत देखिएपछि सडक मर्मतमा थप कठिनाइ उत्पन्न भएको थियो।
आयोजनाका अनुसार नेपाली सेना, स्वयंसेवक तथा ड्रोनको सहयोगमा आवश्यक सामग्री र इन्धन प्रभावित क्षेत्रमा पुर्याइएको छ। सडक आयोजनाका प्रमुख शर्माका अनुसार ड्रोनमार्फत छ पटकमा करिब ४०० लिटर डिजेल कटान क्षेत्रभन्दा माथि पुर्याइएपछि मर्मतको कामलाई निरन्तरता दिन सहज भएको हो।
विभिन्न स्थानमा नयाँ ट्र्याक निर्माण
अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, रातोपानी, महभिर र भिरकाटे क्षेत्रमा पनि सडक मर्मत र नयाँ ट्र्याक निर्माण भइरहेको छ।
रातोपानी क्षेत्रमा बाढीले दुई स्थानमा गरी करिब २५० मिटर सडक कटान गरेपछि वैकल्पिक ट्र्याक खोलिएको छ। पोखरेबगरस्थित कालीगण्डकी पुलको पहुँचमार्ग निर्माणका लागि समेत मजदुर परिचालन गरिएको छ।
सडक विभाग तथा निर्माण व्यवसायीका १५ वटा स्काभेटर, १२ वटा टिपर र १५ वटा लोडर परिचालन गरी विभिन्न स्थानमा एकैसाथ काम भइरहेको संघीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए।
उनका अनुसार अवरुद्ध सडकलाई विभिन्न स्थानबाट समानान्तर रूपमा खुलाउने प्रयास भइरहेको छ। यसै साताभित्र सडक मर्मत पूरा गर्ने लक्ष्यसहित काम अघि बढाइएको उनले जानकारी दिए।
कोरला नाका र पर्यटनका कारण सडक खुलाउन दबाब
चीनसँगको व्यापारका लागि कोरला नाका अहिले थप महत्वपूर्ण बनेको छ। रसुवा र तातोपानी नाका सञ्चालनमा समस्या रहेकाले कोरला नाकासम्म पुग्ने सडकलाई छिटो सञ्चालनमा ल्याउनुपर्ने दबाब बढेको अधिकारीहरूको भनाइ छ।
यता मुस्ताङबाट स्याउ बजार पठाउने समय सुरु भइसकेको छ। दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजारतर्फ झार्ने समय पनि नजिकिँदै गएको छ।
पर्यटकीय सिजन सुरु भइसकेकाले बेनी–जोमसोम सडकको नियमित सञ्चालन पर्यटन व्यवसायका लागि समेत महत्वपूर्ण बनेको छ। स्थानीय व्यापार, कृषि उत्पादनको ढुवानी र पर्यटक आवागमनलाई सहज बनाउन सडक मर्मतलाई प्राथमिकताका साथ अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ।
