राजमार्गका होटलमा दूषित खाना खुवाए चालक र सञ्चालकलाई कारबाही हुने
काठमाडौं । राजमार्गका होटल तथा रेस्टुरेन्टमा खाना खाँदा यात्रु बिरामी परेको पुष्टि भए सम्बन्धित सवारी चालक र होटल सञ्चालकमाथि कानुनी कारबाही गरिने भएको छ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन सार्वजनिक यातायातका चालकलाई निर्देशन दिएको हो। पूर्वाधार विकास मन्त्रालयमा भएको सरोकारवालाबीचको बैठकपछि विभागले यस्तो व्यवस्था लागू गर्न चेतावनी दिएको हो
विभागका अनुसार यात्रुवाहक सवारीका चालकले स्वच्छ, सफा र गुणस्तरीय खाना उपलब्ध हुने होटल तथा रेस्टुरेन्टमा मात्रै सवारी रोक्नुपर्नेछ। सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छताको स्टिकर प्राप्त गरेका होटललाई प्राथमिकता दिनसमेत भनिएको छ।
राजमार्गका होटलमा उपलब्ध हुने खाजा, नास्ता तथा खानाको गुणस्तर कमजोर हुँदा यात्रु बिरामी परेको गुनासो बढेपछि सम्बन्धित सरकारी निकायले निगरानी तीव्र बनाएका छन्।
खानाको गुणस्तर र स्वच्छतामा लापरबाही गरेको कारण यात्रु बिरामी भएको पाइए सम्बन्धित सवारी चालक तथा होटल वा रेस्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने विभागले जनाएको छ।
त्यसैगरी, होटलमा खाना तथा खाजाको स्वच्छता र गुणस्तरमा समस्या देखिएमा वा तोकिएकोभन्दा बढी मूल्य लिएर ठगी गरेमा यात्रुले सम्बन्धित निकायमा उजुरी गर्न सक्नेछन्।
यात्रुले नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा फोन गर्न सक्नेछन्। साथै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय वा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा समेत गुनासो दर्ता गराउन सकिनेछ।
विभागको यो कदमले राजमार्गका होटलमा खाद्य स्वच्छता कायम गर्न, यात्रुको स्वास्थ्य सुरक्षामा सुधार ल्याउन तथा उपभोक्तामाथि हुने सम्भावित ठगी नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
