कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी विजयी
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित भएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार खतिवडाले २ हजार ९१९ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरे। सिवाकोटी २ हजार १७२ मतसहित दोस्रो स्थानमा रहेर सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।
पार्टीको व्यवस्थाअनुसार खुलातर्फ सहमहामन्त्रीमा दुई जना निर्वाचित हुने प्रावधान छ। उक्त पदका लागि नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।
मतपरिणामअनुसार डिल्लीराम सुवेदीले १ हजार ८५१, देवेन्द्रराज कँडेलले १ हजार ३८२, राजीव ढुंगानाले १ हजार २४१, विकास कोइरालाले १ हजार १४९ र अमृतकुमार अर्यालले १ हजार ३९ मत प्राप्त गरे।
त्यस्तै, रमेशप्रसाद भुसालले ८२१ मत पाउँदा विमलराज क्षेत्रीले २८२ मत प्राप्त गरे।
खुलातर्फ सहमहामन्त्री चयनका लागि कुल ७ हजार ४५ मत खसेको निर्वाचन समितिले जनाएको छ। यस परिणामसँगै कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रियाअन्तर्गत खुलातर्फका दुई सहमहामन्त्रीको टुंगो लागेको छ।
