बुढीगण्डकी बाढीले रोकिए पर्यटकको यात्रा, करिब एक हजार उद्धारको पर्खाइमा
काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा करिब एक हजार पर्यटक तथा उनीहरूका सहयोगी अलपत्र परेका छन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अनुसार स्यारखोला र बुढीगण्डकी नदी करिडोरका विभिन्न स्थानमा रहेका उनीहरू उद्धारको प्रतीक्षामा छन्।
टानले मंगलबार सूचना जारी गर्दै चुम्चेत, लोक्पा, न्याकफेदी, फिलिम, सिर्दिबास, सल्लेरी, जगत र माछाखोलालगायत पर्यटकीय क्षेत्र तथा आसपासका स्थानमा पर्यटक र सहयोगीहरू रोकिएको जनाएको छ।
उपलब्ध विवरणअनुसार अलपत्र परेकामध्ये चार सयभन्दा बढी विदेशी पर्यटक छन् भने उनीहरूसँगै रहेका सहयोगीको संख्या करिब छ सय रहेको छ। बाढीका कारण प्रभावित क्षेत्रमा रहेका पर्यटकको उद्धार हुन नसकेको र बीमा नीतिसम्बन्धी समस्याले सम्बन्धित एजेन्सीबाट समेत उद्धार प्रक्रिया अघि बढाउन कठिनाइ भएको टानले जनाएको छ।
टानले अलपत्र पर्यटक तथा उनीहरूका सहयोगीको यकिन विवरण संकलन गर्न सम्बन्धित निकाय र एजेन्सीहरूसँग जानकारी मागेको छ। संकलित विवरणका आधारमा उद्धारको आवश्यक रणनीति तयार गरी बुधबारदेखि पहल थाल्ने संस्थाले जनाएको छ।
यसअघि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्यटकको निजी क्षेत्रबाट उद्धार गर्न थप अनुमति लिन आवश्यक नरहेको स्पष्ट पारेको थियो।
बाढीपछि पर्यटकीय क्षेत्रमा आवतजावत प्रभावित हुँदा पर्यटकको सुरक्षासँगै उनीहरूको उद्धार व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। अलपत्र परेका सबै पर्यटक तथा सहयोगीलाई सुरक्षित स्थानमा ल्याउन सम्बन्धित निकाय, पर्यटन व्यवसायी र उद्धार टोलीबीच समन्वय आवश्यक देखिएको छ।
