थाइल्यान्डलाई कालोसूचीमा राख्ने चेतावनीपछि भिसा समस्याबारे दूतावासको चासो
काठमाडौं । थाइल्यान्डको पर्यटक भिसा प्रक्रियामा देखिएको ढिलाइ र झन्झटप्रति नेपाली पर्यटन व्यवसायीले असन्तुष्टि जनाउँदै त्यहाँका पर्यटकीय प्याकेज बन्द गर्ने चेतावनी दिएपछि नेपालस्थित थाई राजदूतावासले समस्या समाधानका लागि सक्रियता बढाएको छ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लगायतका पर्यटन व्यवसायीले भिसा प्रक्रियालाई सहज, पारदर्शी र व्यावहारिक बनाउन माग गर्दै आएका छन्। समस्या समाधान नभए थाइल्यान्डलाई नेपालीको बाह्य पर्यटन गन्तव्यको कालोसूचीमा राखेर त्यहाँका लागि नयाँ पर्यटकीय प्याकेज बिक्री, विज्ञापन र समूह बुकिङ रोक्ने उनीहरूको चेतावनी छ।
व्यवसायीहरूका अनुसार भिसा स्वीकृत हुने निश्चितता नहुँदै यात्रुहरूलाई फिर्ता नहुने हवाई टिकट काट्न र होटल बुकिङ गर्नुपर्ने बाध्यता छ। अन्तर्राष्ट्रिय बुकिङ प्रणालीमार्फत गरिएको होटल आरक्षणलाई समेत पर्याप्त नमान्दै सम्बन्धित होटलबाट छुट्टै पुष्टि पत्र मागिने गरेको उनीहरूको गुनासो छ।
आवश्यक कागजातसहित आवेदन दिँदासमेत भिसा अस्वीकृत हुने वा यात्राको निर्धारित मिति बितेपछि मात्रै निर्णय आउने समस्याले यात्रु र पर्यटन व्यवसायी आर्थिक जोखिममा परेको नाट्टाको भनाइ छ। यसबाट ठूलो रकम गुम्ने अवस्था सिर्जना भएको भन्दै व्यवसायीले विद्यमान प्रक्रियामा सुधार गर्न माग गरेका छन्।
नाट्टाका महासचिव राजकुमार देवकोटाले जारी गरेको विज्ञप्तिमा भिसाको सुनिश्चितता नहुँदा यात्रु र व्यवसायीलाई अनावश्यक आर्थिक भार बोकाउन नहुने उल्लेख गरिएको छ। उनले परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सम्बन्धित कूटनीतिक निकायलाई थाई राजदूतावाससँग तत्काल वार्ता गरी समस्या समाधान गर्न आग्रह गरेका छन्।
व्यवसायीको दबाबपछि दूतावास सक्रिय
व्यवसायीले विरोध चर्काउँदै थाइल्यान्डका लागि पर्यटकीय गतिविधि नै रोक्ने चेतावनी दिएपछि राजदूतावासले भिसा प्रक्रियामा देखिएका समस्याबारे चासो देखाएको हो।
पर्यटन व्यवसायी रमेश पराजुलीका अनुसार दूतावासले भिसा आवेदनमा भइरहेको ढिलाइ, आवश्यक कागजातसम्बन्धी कडा व्यवस्था र होटल बुकिङको पुष्टि पत्र माग्ने प्रक्रियाबारे आन्तरिक समीक्षा गर्न थालेको छ।
दूतावासको पछिल्लो सक्रियताले समस्या समाधान हुने आशा पलाएको व्यवसायीहरूले बताएका छन्। उनीहरूका अनुसार अब नेपाली ट्राभल एजेन्सीहरूसँग समन्वय गरेर प्रक्रिया सहज बनाउने दिशामा पहल हुनुपर्ने आवश्यकता छ।
व्यवसायीहरूले यसअघि नै सम्बन्धित निकायबाट प्रभावकारी पहल नभए थाइल्यान्डका टुर प्याकेज बिक्री तथा बुकिङ बन्द गर्ने तयारी गरेका थिए। उनीहरूले यात्रुको समय, लगानी र आर्थिक सुरक्षाको प्रत्याभूति हुने गरी भिसा प्रक्रिया सुधार गर्नुपर्नेमा जोड दिएका छन्।
भिसा प्रक्रियामा देखिएका समस्या समाधान गर्न दूतावास र नेपाली पर्यटन व्यवसायीबीच प्रभावकारी समन्वय हुन सके थाइल्यान्ड भ्रमणमा जाने नेपाली यात्रु तथा पर्यटन क्षेत्रका व्यवसायीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
