बादलको घुम्टोभित्र लुकेको दोलखाको अनाम ‘माछा पोखरी’
दोलखा । दोलखाका हिमाली तथा उच्च पहाडी क्षेत्रमा रहेका ताल, कुण्ड र पोखरीको खोजी गर्ने क्रममा एउटा कमैलाई थाहा भएको सुन्दर पोखरी भेटिएको छ। जिरी नगरपालिका–१, श्यामाको उच्च क्षेत्रमा रहेको यो पोखरी समुद्री सतहबाट करिब ४ हजार २ सय १५ मिटर उचाइमा अवस्थित छ।
स्थानीय चौरीपालकबाहेक अन्य मानिसको खासै आवतजावत नहुने क्षेत्रमा रहेको यो पोखरी हालसम्म औपचारिक रूपमा नामकरणसमेत नभएको बताइएको छ। पोखरीको आकार माछाजस्तो देखिने भएकाले यसको पहिचानका लागि ‘माछा पोखरी’ नाम प्रस्ताव गरिएको छ। स्थानीयस्तरमा भने यसलाई ‘रक्त पोखरी’ भनेर चिनिने गरेको जानकारी पनि भेटिएको छ।
दोलखाका विभिन्न क्षेत्रमा रहेका पोखरी र तालको खोजी गर्ने क्रममा करिब एक महिनाअघि पर्यटन अभियन्ता लिलाराम खड्का र यात्राका क्रममा स्थानीय गेल्जी शेर्पाबाट उक्त पोखरीबारे जानकारी प्राप्त भएको थियो। चौरीपालकहरूले मात्र चिन्ने एउटा पोखरी नजिकै रहेको थाहा पाएपछि त्यसलाई प्रत्यक्ष हेर्ने उत्सुकता बढेको थियो।
केही समयपछि मौसम अनुकूल भएपछि पोखरीको खोजीमा यात्रा सुरु भयो। शिवालय हुँदै ग्वाङखोलाको उकालो चढ्दै मानेडाँडा पार गरेर अघि बढ्दा बाटो क्रमशः कठिन हुँदै गयो। पुराना चौरीगोठ, सुनपाती र धुपीका वन, रंगीचंगी जंगली फूल तथा चराचुरुङ्गीको आवाजले भने यात्रालाई थप रमाइलो बनाइरहेको थियो।
उच्च हिमाली क्षेत्रको मौसम क्षणभरमै परिवर्तन हुने भएकाले यात्राका क्रममा बादल र कुहिरो मुख्य चुनौती बने। पोखरी नजिक पुग्दासम्म बाक्लो बादलले दृश्य पूरै ढाकिसकेको थियो। केही मिटर परसम्म पनि देख्न नसकिने अवस्था आएपछि लामो समय मौसम खुल्ने प्रतीक्षा गर्नुपर्यो।
करिब आधा घण्टाको प्रतीक्षापछि बादल केही हट्यो। मौसम खुलेको समय भने निकै छोटो थियो। करिब चार मिनेटजति मात्र खुलेको आकाशको मौका छोप्दै पोखरीलाई प्रत्यक्ष नियाल्नुका साथै तस्बिरसमेत खिचियो।
बादल हट्दा देखिएको पोखरीको स्वरूप आकर्षक देखिन्थ्यो। चारैतिरको हिमाली भूगोल, सुनपाती–धुपीको वनस्पति र बदलिँदो मौसमले यस क्षेत्रलाई प्राकृतिक पर्यटनका दृष्टिले सम्भावनायुक्त बनाएको देखिन्छ।
पर्यटनको नयाँ गन्तव्य बन्न सक्ने सम्भावना
जिरी नगरपालिका–१, श्यामा क्षेत्रमा जटापोखरी, पाँचपोखरी र भूतपोखरी अर्थात् तारापोखरी जस्ता चर्चित पोखरीहरू छन्। विशेषगरी जनैपूर्णिमाका अवसरमा ती पोखरीमा धार्मिक तथा पर्यटकीय गतिविधि बढ्ने गर्छ।
तर मानेडाँडाबाट करिब साढे दुई घण्टाको पैदल दूरीमा रहेको यो अनाम पोखरी भने अहिलेसम्म पर्यटकको नियमित गन्तव्य बन्न सकेको छैन। चौरीपालकहरूले प्रयोग गर्ने पदमार्गबाहेक यहाँ मानवीय चहलपहल निकै कम छ।
पर्यटनका लागि यसको सबैभन्दा ठूलो विशेषता नै यही एकान्त र प्राकृतिक मौलिकता हुन सक्छ। भीडभाडबाट टाढा, बादलसँग लुकामारी खेल्दै देखिने पोखरी, उच्च हिमाली भूगोल र प्राकृतिक वनस्पतिले यसलाई साहसिक तथा प्रकृति पर्यटनका लागि आकर्षक गन्तव्य बनाउन सक्ने सम्भावना देखिन्छ।
संरक्षण र अध्ययन आवश्यक
जलवायु परिवर्तनका कारण धेरै स्थानमा पानीका मुहान, कुवा तथा साना पोखरी सुक्दै गइरहेका बेला नयाँ वा हालसम्म अभिलेखमा नआएको पोखरी भेटिनु आफैंमा चासोको विषय हो। यो पोखरी हालसालै बनेको हो वा पहिलेदेखि नै अस्तित्वमा रहेर पनि मानिसको पहुँच र जानकारीबाट बाहिर थियो भन्ने विषयमा थप भौगोलिक तथा वातावरणीय अध्ययन आवश्यक देखिन्छ।
दोलखाका उच्च हिमाली भूभागमा अझै धेरै प्राकृतिक पोखरी, कुण्ड तथा जलसम्पदा अन्वेषण हुन बाँकी हुन सक्छन्। तिनको पहिचान, अभिलेखीकरण, संरक्षण र व्यवस्थित प्रचारप्रसार गर्न सके जिल्लाको पर्यटन क्षेत्रले नयाँ गन्तव्य पाउन सक्छ।
कालिञ्चोक, जिरी, शैलुङ तथा रोल्वालिङजस्ता परिचित गन्तव्यसँगै यस्ता लुकेका प्राकृतिक सम्पदालाई जोडेर पदयात्रा मार्ग विकास गर्न सके दोलखाको पर्यटनलाई अझ विविध र आकर्षक बनाउन सकिन्छ।
बादलले छोपिँदा केही क्षणका लागि हराउने र आकाश खुलेपछि मात्र आफ्नो सौन्दर्य देखाउने यो पोखरी त्यसैले केवल एउटा जलाशय मात्र होइन, दोलखाको अन्वेषण हुन बाँकी प्राकृतिक सम्भावनाको एउटा उदाहरण बनेको छ।
