दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा कात्तिक ३० गते पेशी तोकिएको छ।
कार्कीले आफूलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट गैरकानूनी रूपमा हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन्। उनका तर्फबाट वकिलहरूले बिहीबार सर्वोच्चमा निवेदन पेस गरेका थिए।
सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट दर्ता भइसकेको छ र त्यसको पेशी कात्तिक ३० गतेका लागि तोकिएको हो। यसअघि बिहीबार निवेदन अध्ययनकै क्रममा रहेकाले तत्काल दर्ता हुन नसकेको जानकारी प्रशासनले दिएको थियो।
सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकको पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको छ। तर, कार्कीले भने मन्त्रिपरिषद्बाट भएको उक्त निर्णयसम्बन्धी पत्र अहिलेसम्म बुझेका छैनन्।
सरकारको निर्णय र आफूलाई पदबाट हटाउने प्रक्रियामाथि प्रश्न उठाउँदै कार्की अदालत पुगेपछि अब सर्वोच्च अदालतबाट हुने सुनुवाइलाई चासोका साथ हेरिएको छ।
