बाजुरामा फेसन शो : स्थानीय ऊनदेखि संस्कृति र पर्यटनसम्मको प्रवर्द्धन
बाजुरा । हिमाली जिल्लाको स्थानीय उत्पादन, मौलिक संस्कृति र पर्यटनलाई एउटै मञ्चबाट चिनाउने उद्देश्यले बाजुरामा ‘फार्म टु फेसन–क्लाइमेट अवेरनेस रनवे–२०२६’ आयोजना गरिएको छ।
नोभेम्बर ४ मा आयोजित कार्यक्रममा स्थानीय स्रोतबाट उत्पादित सामग्रीलाई फेसनसँग जोड्दै हिमाली जीवनशैली, सांस्कृतिक पहिचान र प्राकृतिक सम्पदाको प्रवर्द्धनमा जोड दिइएको आयोजक संस्था ‘थ्रेड्स अफ द हिमालयन फाउन्डेसन’ले जनाएको छ।
नेपालका हिमाली क्षेत्रमा भेडापालन र ऊन उत्पादनको लामो परम्परा रहे पनि स्थानीय उत्पादनले अपेक्षित बजार र पहिचान पाउन नसकेको अवस्थामा यस्तो कार्यक्रमले किसान तथा स्थानीय उद्यमीलाई नयाँ बजारसँग जोड्ने आधार तयार गर्ने आयोजकको भनाइ छ।
फेसन शोमा स्थानीय सीप र उत्पादनलाई आधुनिक डिजाइनसँग जोडेर प्रस्तुत गरिएको थियो। यसले स्थानीय ऊन, हस्तकला तथा मौलिक सामग्रीको व्यावसायिक सम्भावना उजागर गर्नुका साथै महिला तथा साना उद्यमीलाई आर्थिक गतिविधिमा जोड्ने लक्ष्य राखेको छ।
थ्रेड्स अफ द हिमालयन फाउन्डेसनकी अध्यक्ष रमिला नेम्कुल श्रेष्ठका अनुसार कार्यक्रमको मुख्य उद्देश्य बाजुरालगायत हिमाली क्षेत्रमा उत्पादित ऊन र त्यससँग जोडिएको भेडापालन व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउनु हो। उनका अनुसार किसान, स्थानीय सीप, महिला उद्यमशीलता र फेसन उद्योगबीच दीर्घकालीन सम्बन्ध विकास गर्न कार्यक्रमले सहयोग पुर्याउनेछ।
जलवायु सचेतनासँग पर्यटन जोड्ने प्रयास
कार्यक्रमलाई फेसनमा मात्र सीमित नराखी जलवायु परिवर्तनको असर भोगिरहेका हिमाली समुदायको जीवनशैली र स्थानीय स्रोत संरक्षणको विषयसँग पनि जोडिएको थियो।
हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण प्राकृतिक स्रोत, पशुपालन र स्थानीय जीविकोपार्जनमा परेको प्रभावबारे सचेतना फैलाउँदै दिगो उत्पादन र प्राकृतिक स्रोतको संरक्षणको सन्देशसमेत कार्यक्रममार्फत दिइएको आयोजकले जनाएको छ।
बाजुरा प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, धार्मिक तथा सांस्कृतिक सम्पदा र मौलिक जीवनशैलीका कारण पर्यटनका दृष्टिले सम्भावनायुक्त जिल्ला मानिन्छ। स्थानीय उत्पादन र संस्कृतिलाई पर्यटनसँग जोड्न सके यसले बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकलाई समेत आकर्षित गर्न सक्ने अपेक्षा गरिएको छ।
स्थानीय उत्पादनलाई पर्यटनको अनुभवसँग जोड्ने यस्ता गतिविधिले पर्यटकलाई गन्तव्य घुमाउने मात्र नभई स्थानीय वस्तु, संस्कृति र जीवनशैलीसँग प्रत्यक्ष जोड्ने वातावरण बनाउन सक्छ। यसबाट स्थानीय समुदायको आयआर्जन बढ्नुका साथै बाजुरा र समग्र सुदूरपश्चिमको पर्यटन पहिचान विस्तार गर्न सहयोग पुग्ने देखिन्छ।
आयोजकका अनुसार ‘फार्म टु फेसन’ अवधारणाले किसानदेखि उपभोक्तासम्मको उत्पादन शृंखलालाई जोड्दै स्थानीय स्रोतको मूल्य अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। साथै, बाजुराको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउने माध्यमका रूपमा पनि कार्यक्रमलाई अघि बढाइएको हो।
