जेन्सेन हुआङमाथि एनभिडियाको आन्तरिक छानबिन
काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको एक चिनियाँ महिलासँगको सम्बन्ध र त्यससँग जोडिएका सम्भावित सुरक्षा संवेदनशीलताबारे स्वतन्त्र छानबिन अघि बढाएको छ।
चिनियाँ जासुसी निकायसँग सम्बन्ध रहेको आरोप लागेकी महिलासँग हुआङको अन्तरङ्ग सम्बन्ध रहेको सार्वजनिक भएपछि एनभिडियाको सञ्चालक समितिले बाह्य कानुनी सल्लाहकारको सहयोगमा अनुसन्धान गर्न स्वतन्त्र निर्देशकहरूको समिति गठन गरेको हो।
कम्पनीका अनुसार हालसम्म एनभिडियाको गोप्य सूचना वा अमेरिकी राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील जानकारी चुहावट भएको ठोस आधार भेटिएको छैन। तर, घटनासँग सम्बन्धित सबै तथ्य र उपलब्ध सूचनाको विस्तृत समीक्षा गरिने बोर्डले जनाएको छ।
छानबिन भइरहे पनि हुआङले एनभिडियाको नेतृत्व निरन्तर सम्हाल्नेछन्। कम्पनीको बोर्डले उनको नेतृत्वप्रति विश्वास कायमै रहेको स्पष्ट पारेको छ।
चिनियाँ महिलासँगको सम्बन्धले बढायो विवाद
यो प्रकरण अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्स ले गत महिना प्रकाशित गरेको रिपोर्टपछि थप चर्चामा आएको हो। रिपोर्टमा एलिस हुआङ नामकी चिनियाँ महिलाले एनभिडियाको प्रविधिसम्बन्धी जानकारी प्राप्त गर्ने उद्देश्यले जेन्सेन हुआङसँग निकट सम्बन्ध बनाएको दाबी गरिएको थियो।
एलिस र जेन्सेनबीच पारिवारिक नाता नरहेको बताइएको छ। एलिस कार्यरत कम्पनी मेगास्पिड एनभिडियाको ठूलो ग्राहक रहेको र उसले अमेरिकी कम्पनीबाट करिब ४.८ अर्ब डलर बराबरका उपकरण खरिद गरेको रिपोर्टमा उल्लेख गरिएको थियो।
यद्यपि, वासिङ्टनस्थित चिनियाँ दूतावासले यस घटनामा जोडिएको जासुसीको आरोप अस्वीकार गरेको छ।
यस प्रकरणले अमेरिका र चीनबीच कृत्रिम बौद्धिकता तथा अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा बढिरहेको प्रतिस्पर्धालाई समेत पुनः सतहमा ल्याएको छ।
अमेरिकी सांसदले मागे जवाफ
रिपोर्ट सार्वजनिक भएपछि अमेरिकी कंग्रेसमा समेत हुआङ र एनभिडियामाथि प्रश्न उठेको छ। डेमोक्रेटिक सिनेटर एलिजाबेथ वारेनले एनभिडियाका उन्नत एआई चिप चीन पुगिरहेको विषयमा लामो समयदेखि चिन्ता व्यक्त हुँदै आएको भन्दै कम्पनीको नेतृत्वले कंग्रेसलाई जवाफ दिनुपर्ने बताएकी छन्।
रिपब्लिकन सांसदहरू जोन मोलेनार, ब्रायन मास्ट र रिक क्रफोर्डले पनि हुआङलाई नोभेम्बर १८ मा कंग्रेसमा उपस्थित भएर सम्बन्धित विषयमा बयान दिन आग्रह गरेका छन्।
उनीहरूले अमेरिकी प्रविधि र राष्ट्रिय सुरक्षामा यस घटनाबाट पर्न सक्ने सम्भावित असरबारे कंग्रेसले स्पष्ट जानकारी लिनुपर्ने बताएका छन्।
कर्मचारीलाई इमेलमार्फत व्यक्तिगत गल्ती स्वीकार
विवाद चर्किएपछि हुआङले एनभिडियाका कर्मचारीलाई पठाएको इमेलमा आफ्नो विवाहेतर सम्बन्ध स्वीकार गरेका छन्।
उनले आफ्नो व्यवहारबाट पत्नी र सन्तानलाई चोट पुगेको भन्दै त्यसका लागि कुनै बहाना नभएको बताएका छन्।
व्यक्तिगत सम्बन्धको विषयसँगै यस घटनाले एनभिडियाको प्रविधि, चीनसँगको व्यापार र संवेदनशील एआई चिप्सको सुरक्षाबारे बहसलाई समेत तीव्र बनाएको छ।
एनभिडिया पछिल्ला वर्षमा एआई प्रविधिको तीव्र विस्तारसँगै विश्वकै महत्वपूर्ण चिप निर्माता कम्पनीमध्ये एक बनेको छ। कम्पनीका चिप्स तथा प्रोग्रामिङ इन्टरफेस ठूला प्रविधि कम्पनीहरूले विकास गरिरहेका एआई प्रणालीमा व्यापक रूपमा प्रयोग भइरहेका छन्।
चीनमा चिप बिक्री र ट्रम्पसँगको सम्बन्ध पनि चर्चामा
एनभिडिया र अमेरिकी सरकारबीचको सम्बन्धका कारण पनि हुआङ पछिल्लो समय चर्चामा रहँदै आएका छन्। सन् २०२५ मा डोनाल्ड ट्रम्प पुनः अमेरिकी राष्ट्रपति बनेपछि हुआङ उनीसँग नजिक देखिएका छन्।
त्यसै वर्ष ट्रम्प प्रशासनले चीनमा निश्चित एनभिडिया चिप्स बिक्रीबाट प्राप्त आम्दानीको १५ प्रतिशत हिस्सा अमेरिकी सरकारलाई दिने व्यवस्था घोषणा गरेको थियो।
अर्कोतर्फ, अमेरिकी मध्यावधि निर्वाचनपछि एआई कम्पनी र प्रविधि क्षेत्रका सेयरमा आएको गिरावटले पनि एनभिडियालाई प्रभावित गरेको छ। गत साता एकै दिनको कारोबारमा कम्पनीको बजार मूल्य करिब ४५० अर्ब डलरले घटेको थियो। त्यसपछि शुक्रबार भने सेयर मूल्यमा करिब ४ प्रतिशत सुधार आएको थियो।
ट्रम्पले भने– हुआङले केही गलत गरेको सुनेको छैन
विवादका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुआङको बचाउ गरेका छन्। चीनमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनमा हुआङलाई आफूसँगै लैजाने विषयमा सोधिएको प्रश्नमा ट्रम्पले आफू उनलाई लैजान चाहेको बताएका थिए।
ट्रम्पले हुआङलाई असल र सम्मानित व्यक्ति भन्दै उनले अमेरिकाका लागि महत्वपूर्ण योगदान गरेको दाबी गरेका छन्।
हुआङले कुनै गलत काम गरेको आफूले नसुनेको उल्लेख गर्दै ट्रम्पले उनको व्यक्तिगत व्यवहारका विषयमा पनि बचाउको संकेत दिएका छन्।
अब एनभिडियाले अघि बढाएको स्वतन्त्र छानबिनले व्यक्तिगत सम्बन्धसँग जोडिएका आरोपबाहेक कम्पनीको संवेदनशील प्रविधि, चीनसँगको व्यापार र अमेरिकी राष्ट्रिय सुरक्षामा कुनै असर परेको थियो वा थिएन भन्ने विषयमा समेत स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
(अलजजिराबाट)
