छठको मागले चम्कियो स्वदेशी केरा बजार, किसान खुसी उपभोक्ता भने महँगो मूल्यमा
जनकपुरधाम — छठ पर्व नजिकिएसँगै तराई–मधेसका बजारमा केराको कारोबार बढेको छ। छठ पूजामा केराको घरी अनिवार्यजस्तै मानिने भएकाले माग बढेको हो। यसपटक भने बजारमा भारतीय केरा नआउँदा नेपालकै उत्पादनले छठको माग धानिरहेको छ।
जनकपुरधामको फलफूल बजारमा अहिले देशका विभिन्न जिल्लाबाट ल्याइएका केराको कारोबार भइरहेको छ। व्यवसायीका अनुसार कैलालीको टीकापुरदेखि नवलपरासी, चितवन, त्रिवेणी, हेटौँडा, निजगढ, बिर्तामोड, शनिश्चरे, इनरुवा र कोशी क्षेत्रसम्मका उत्पादन जनकपुरधाममा आइपुगेका छन्।
जनकपुर फलफूल व्यवसायी सङ्घका अध्यक्ष विश्वेश्वर यादवका अनुसार यस वर्ष छठका लागि भारतबाट केराको आयात भएको छैन। स्वदेशी उत्पादन पर्याप्त रहेकाले बजारमा अभावको अवस्था नरहेको उनको भनाइ छ।
उनका अनुसार अहिले मिर्चमान जातको केरा प्रतिघरी करिब १ हजारदेखि १ हजार २ सय रुपैयाँ र गोपाल जातको केरा ५ सयदेखि १ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
नेपालमै केराखेती विस्तार हुँदै गएपछि विगतमा भारतबाट ठूलो परिमाणमा आउने गरेको केरा क्रमशः स्वदेशी उत्पादनले प्रतिस्थापन गर्न थालेको व्यवसायीहरू बताउँछन्। गोपाल र बन्सीबोट जातका केरा अहिले पर्याप्त उत्पादन भइरहेको र आगामी एक–दुई वर्षमा मिर्चमान तथा चम्पा जातको उत्पादन पनि बढ्ने अपेक्षा गरिएको छ।
आयात रोकिँदा बजारमा प्रतिस्पर्धा घटेको गुनासो
व्यवसायीले स्वदेशी उत्पादनले बजारको माग पूरा गरिरहेको बताए पनि उपभोक्ताले भने केराको मूल्य चर्किएको गुनासो गरेका छन्।
भारतीय केरा आयात हुँदा बजारमा मूल्य प्रतिस्पर्धा हुने र तुलनात्मक रूपमा सस्तोमा किन्न पाइने गरेको उपभोक्ताको भनाइ छ। यस वर्ष भने केराको मूल्य विगतको तुलनामा निकै बढेको उनीहरू बताउँछन्।
छठका लागि केरा किन्न बजार पुगेका उपभोक्ताका अनुसार कतिपय व्यापारीले एक घरीको १ हजार २ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म मागिरहेका छन्। विगतमा ६–७ सय रुपैयाँमा पाइने गरेको केरा अहिले झन्डै दोब्बर मूल्यमा किन्नुपरेको उनीहरूको गुनासो छ।
किसानका लागि ठूलो बजार
छठका बेला केराको माग उच्च हुने भएकाले स्वदेशी किसानका लागि यो समय उत्पादन बिक्री गर्ने महत्वपूर्ण अवसर बनेको छ। आयातित केराको प्रतिस्पर्धा नहुँदा स्थानीय उत्पादनले बजार पाउने र किसानले आफ्नो उत्पादनको राम्रो मूल्य प्राप्त गर्न सक्ने अवस्था बनेको व्यवसायीहरू बताउँछन्।
तर उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापन, मूल्य निर्धारण र उपभोक्तासम्म उचित मूल्यमा उत्पादन पुर्याउने प्रणाली बलियो बनाउनुपर्ने देखिन्छ। स्वदेशी उत्पादनलाई प्रोत्साहनसँगै उपभोक्तालाई पनि उचित मूल्यमा कृषि उपज उपलब्ध गराउन सके मात्र आयात प्रतिस्थापनको लाभ किसान र सर्वसाधारण दुवैमा पुग्नेछ।
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिँदा केराको घरीसहित विभिन्न फलफूल चढाउने परम्परा छ। यही धार्मिक परम्पराका कारण छठको समयमा केराको माग सामान्य दिनको तुलनामा उल्लेख्य रूपमा बढ्ने गरेको छ। यसपटक बढेको मागले एकातिर स्वदेशी उत्पादनको बजार विस्तार गरेको छ भने अर्कोतर्फ मूल्यवृद्धिको बहससमेत चर्काएको छ।
