लाङटाङ : हिमालको सौन्दर्यभित्र संघर्षरत पर्यटन जीवन
लाङटाङ — हिमालको सेतो घेराभित्र बसेको लाङटाङ उपत्यका प्रकृति र संस्कृतिको अनुपम संगम हो। हिमशृङ्खला, चट्टानी पहाड, हिमनदी र तामाङ–शेर्पा समुदायको मौलिक जीवनशैलीले यस क्षेत्रलाई नेपालको आकर्षक पदयात्रा गन्तव्य बनाएको छ। तर पर्यटकका आँखामा स्वर्गजस्तो देखिने यही लाङटाङका स्थानीयको दैनिकी भने अनेक कठिनाइले भरिएको छ।
पर्यटनमा निर्भर यहाँका बासिन्दा पदमार्गको कमजोर अवस्था, स्वास्थ्य सेवाको अभाव, महँगो ढुवानी, फोहोर व्यवस्थापन र पूर्वाधारको कमीबीच पर्यटकलाई स्वागत गरिरहेका छन्।
लाङटाङ भ्यालीकी ५० वर्षीया फुर्पु शेर्पाका लागि पर्यटक केवल आम्दानीको स्रोत होइनन्, पारिवारिक आत्मीयताको माध्यम पनि हुन्। आफ्ना सन्तानजस्तै उमेरका पर्यटक गाउँ आइपुग्दा उनी आत्मीयतापूर्वक बोलाउँछिन्।
‘कहाँसम्म पुग्ने हो? आउनुस्, चिया खाऔँ,’ भन्दै पर्यटकलाई स्वागत गर्ने उनको व्यवहारमा हिमाली आतिथ्यको झल्को पाइन्छ।
तर उनको मुस्कानभित्र गहिरो पीडा पनि लुकेको छ। २०७२ सालको भूकम्पमा उनले श्रीमान्, जेठो छोरा र छोरी गुमाइन्। चार सन्तानमध्ये एक छोरी क्यानडामा र अर्की काठमाडौंमा अध्ययनरत छन्।
छोरीलाई गाउँ आउन आग्रह गर्दा ‘हेलिकप्टर पठाइदिनु, हिँडेर त आउँदिनँ’ भन्ने गरेको उनी सुनाउँछिन्। छोरीको जवाफ सम्झँदा मुस्कुराउने फुर्पुको मनमा भने सन्तानसँग भेट्ने चाहना र उनीहरू टाढिँदै जाने पीडा मिसिएको छ।
‘जिन्दगी के नै रहेछ र!’ उनी भन्छिन्।
लाङटाङका ७२ वर्षीय तेन्जेन लामा र उनकी ७० वर्षीया पत्नी याङ्जेन जाङ्डुम्पाको जीवनमा पनि यस्तै संघर्षका कथा छन्। उनीहरूका सन्तानमध्ये केही अमेरिका पुगेका छन्। सन्तान विदेशमा भए पनि उनीहरूको मन भने जन्मभूमि र हिमालसँगै जोडिएको छ।
पर्यटन गन्तव्य, तर पहुँच अझै चुनौती
लाङटाङ उपत्यका गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्छ। सगरमाथा र अन्नपूर्ण क्षेत्रपछि चर्चामा आउने यो क्षेत्र हिमाली दृश्य, स्थानीय संस्कृति र पदयात्राका लागि प्रसिद्ध छ।
तर पर्यटकको आकर्षणअनुसार यहाँको पूर्वाधार विकास हुन सकेको छैन।
लाङटाङसम्म सडक पहुँच सहज छैन। दैनिक उपभोग्य वस्तु ढुवानीमै ठूलो रकम खर्च हुन्छ। बजारमा करिब २ हजार ५०० रुपैयाँ पर्ने चामल गाउँसम्म पुग्दा ढुवानी खर्च जोडिएर ५ हजार रुपैयाँसम्म पर्ने स्थानीय बताउँछन्।
खाद्यान्नदेखि निर्माण सामग्रीसम्म महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता स्थानीयको दैनिकी बनेको छ।
लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले स्थानीयले विभिन्न शुल्क र नियमको भारसमेत व्यहोर्नुपरेको गुनासो गर्छन्। विदेशी पर्यटकबाट प्रतिव्यक्ति ३ हजार र नेपाली पर्यटकबाट १ सय रुपैयाँ प्रवेश शुल्क लिइए पनि त्यसअनुसार पदमार्ग, फोहोर व्यवस्थापन र स्थानीय पूर्वाधारमा सुधार हुन नसकेको उनीहरूको भनाइ छ।
बिरामी पर्दा हेलिकप्टरको विकल्प
लाङटाङको पर्यटन विकासमा सबैभन्दा गम्भीर चुनौतीमध्ये स्वास्थ्य सेवा पनि हो।
फुर्पुका अनुसार सामान्य अवस्थामा गाउँको जीवन जसोतसो चल्छ। तर कसैलाई गम्भीर स्वास्थ्य समस्या परे अस्पताल पुग्नु निकै कठिन हुन्छ।
‘बिरामी भए हेलिकप्टरबिना अस्पताल पुग्न सकिँदैन। हेलिकप्टरको व्यवस्था गर्न बैंक खातामा तीनदेखि पाँच लाख रुपैयाँसम्म हुनुपर्छ,’ उनी भन्छिन्।
आपतकालीन उपचारका लागि हेलिकप्टरमा निर्भर हुनुपर्ने अवस्था पर्यटन गन्तव्यका रूपमा लाङटाङको कमजोर पूर्वाधारको गम्भीर पक्ष हो। आर्थिक अवस्था कमजोर भएका स्थानीयका लागि यस्तो खर्च जुटाउनु झन् कठिन छ।
बाढीपछि पदयात्रामा असर
२०७२ को भूकम्पबाट ठूलो क्षति बेहोरेको लाङटाङले विस्तारै पर्यटन पुनरुत्थानको बाटो समातेको थियो। तर त्यसपछि भोटेकोशी नदीमा आएको बाढीले स्याफ्रुबेँसी क्षेत्रमा क्षति पुर्याएपछि पर्यटन गतिविधि फेरि प्रभावित भयो।
ओर्जिनल लामा होटलका सञ्चालक राजु गुरुङका अनुसार बाढीपछि पुरानो पदमार्ग प्रयोग गर्न कठिन भएको छ। अहिले पर्यटकले ठूलो स्याफ्रु हुँदै पदयात्रा सुरु गर्नुपर्ने अवस्था छ।
यसले पर्यटकको आवतजावतमा कठिनाइ थप्नुका साथै होटल, रेस्टुरेन्ट र अन्य पर्यटन व्यवसायमा निर्भर स्थानीयको आम्दानीमा समेत असर पारेको छ।
‘पहिला नेपाली पर्यटकको पनि राम्रो आकर्षण थियो। अहिले पर्यटकको सङ्ख्या निकै घटेको छ,’ गुरुङ भन्छन्।
पर्यटन व्यवसायी सोनाम शेर्पाका अनुसार निकुञ्जले वार्षिक चार लाख रुपैयाँ शुल्क लिने गरेको छ। शुल्क तिर्नुपर्ने भए पनि पदमार्ग र पर्यटन व्यवस्थापनमा अपेक्षित सुधार नदेखिएको उनको गुनासो छ।
स्थानीयकै भरमा पदमार्ग व्यवस्थापन
लाङटाङमा करिब ३० घर रहेको केन्जिङ गुम्बाका २७ वर्षीय पेम्बा तामाङ बताउँछन्। पर्यटकलाई आवश्यक सेवा उपलब्ध गराउनेदेखि पदमार्ग मर्मतसम्मका काममा स्थानीय आफैँ सक्रिय हुँदै आएका छन्।
गोसाइँकुण्ड गाउँपालिका–४ का जनप्रतिनिधि लाक्पा तेन्जिङ तामाङका अनुसार लाङटाङमा पर्यटकीय सम्भावना अत्यधिक भए पनि तीनै तहका सरकारबाट अपेक्षित प्राथमिकता पाउन सकेको छैन।
स्थानीयले आफ्नै प्रयासमा बिग्रिएका पदमार्ग मर्मत गरेर पर्यटकलाई गाउँसम्म ल्याउने प्रयास गरिरहेका छन्।
वन्यजन्तुसँग सम्बन्धित नियम र क्षतिपूर्तिको विषयमा पनि स्थानीयको असन्तुष्टि छ। जनप्रतिनिधि तामाङ स्थानीयको सुरक्षा र अधिकारका विषयमा अझ स्पष्ट तथा व्यावहारिक व्यवस्था आवश्यक रहेको बताउँछन्।
प्राकृतिक सौन्दर्यसँगै फोहोर र जोखिमपूर्ण बाटो
लाङटाङको सबैभन्दा ठूलो पर्यटकीय शक्ति यसको प्राकृतिक सौन्दर्य हो। तर यही सौन्दर्यलाई टिकाइराख्न आवश्यक व्यवस्थापन कमजोर देखिन्छ।
निकुञ्ज क्षेत्र पार गरेर लाङटाङ भ्याली पुग्दासम्म कतिपय ठाउँमा फोहोर सङ्कलनका लागि पर्याप्त डस्टबिन छैनन्। केही स्थानमा पहिरो र जोखिमपूर्ण बाटोका कारण पदयात्रीले सावधानीपूर्वक यात्रा गर्नुपर्ने अवस्था छ।
तिहारका बेला लाङटाङ पुगेका स्याङ्जाका प्रविन न्यौपानेले प्राकृतिक सौन्दर्य अद्भुत भए पनि पदमार्ग र फोहोर व्यवस्थापनमा सुधार आवश्यक रहेको बताए।
‘यति सुन्दर ठाउँ छ, तर पदमार्ग व्यवस्थित र सफा नहुँदा दुःख लाग्यो,’ उनले भने।
नमस्ते होटलका सञ्चालक कर्मा लामा भने पदमार्ग सफा राख्ने जिम्मेवारी पर्यटकको पनि भएको बताउँछन्। उनका अनुसार स्थानीय र पर्यटक दुवैले वातावरण संरक्षणमा ध्यान दिए लाङटाङलाई थप आकर्षक बनाउन सकिन्छ।
संस्कृति र प्रकृतिको दोहोरो आकर्षण
काठमाडौंको करिब ६–७ घण्टाको बस यात्रापछि ठूलो स्याफ्रु पुगिन्छ। त्यहाँबाट लाङटाङ पदयात्रा सुरु हुन्छ।
क्यान्जिन गुम्बा यस क्षेत्रको प्रमुख आकर्षण हो। क्यान्जिनबाट करिब ४ हजार ९८४ मिटर उचाइको त्सेर्को री पुग्दा वरिपरिका हिमशृङ्खला, हिमनदी र पहाडी भू–दृश्यको मनोरम दृश्य देख्न सकिन्छ।
प्राकृतिक सुन्दरतासँगै तामाङ तथा शेर्पा समुदायको संस्कृति, परम्परा, स्थानीय खानपान र जीवनशैली पनि लाङटाङको महत्वपूर्ण पर्यटन सम्पत्ति हो।
स्थानीय जनविश्वास र किंवदन्तीले पनि यस क्षेत्रको सांस्कृतिक पक्षलाई थप रोचक बनाएको छ। लाङटाङ नाम रहनुको पछाडि स्थानीय रूपमा प्रचलित कथाहरू आज पनि पर्यटकका लागि चासोको विषय बन्ने गरेका छन्।
पूर्वाधार सुधारिए बढ्न सक्छ पर्यटन
लाङटाङमा प्रकृतिले पर्यटकीय आकर्षणका लागि आवश्यक सबै कुरा दिएको छ। हिमाल, हिमनदी, हरियाली, पहाड, उपत्यका, संस्कृति र हिमाली जीवनशैली यहाँका मुख्य सम्पदा हुन्।
तर यी सम्पदालाई दिगो पर्यटनमा रूपान्तरण गर्न पूर्वाधारमा लगानी आवश्यक छ।
सुरक्षित र व्यवस्थित पदमार्ग, भरपर्दो स्वास्थ्य सेवा, सहज खाद्यान्न ढुवानी, प्रभावकारी फोहोर व्यवस्थापन, आपतकालीन उद्धार प्रणाली र स्थानीय पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने नीति लाङटाङका प्राथमिक आवश्यकता हुन्।
लाङटाङमा पर्यटक तान्ने प्राकृतिक सौन्दर्यको कमी छैन। आवश्यकता त्यस सौन्दर्यलाई व्यवस्थित पर्यटनसँग जोड्ने र त्यसबाट स्थानीयको जीवनस्तर सुधार्ने हो।
हिमाल हेर्न आउने पर्यटकको सङ्ख्या बढाउनु मात्र पर्याप्त हुँदैन; हिमालको काखमा बस्ने मानिसको जीवन पनि सुरक्षित, सम्मानजनक र सहज बनाउनु उत्तिकै आवश्यक छ। यही आधारमा लाङटाङको पर्यटन विकासलाई अघि बढाउन सके यो क्षेत्र नेपालको प्रमुख हिमाली गन्तव्यबाट दिगो र समुदायमुखी पर्यटनको उदाहरणसमेत बन्न सक्छ।
