नेपाल-थाइल्याण्ड टुरिष्ट बस चलाउने तयारी : काठमाडौंबाट धनगढीभन्दा थाइल्याण्ड छिटो पुगिने !

काठमाडौं । नेपालदेखि थाइल्यान्डसम्म टुरिष्ट बस चलाउने तयारी गरिएको छ ।
थाइ शहर बैंककदेखि नेपालको राजधानी काठमाडौंसम्म टुरिष्ट बस सञ्चालनको लागि टुरिष्ट बस एसोसिएसनले तयारी सुरु गरेको छ ।
नेपाल टुरिष्ट बस एसोसिएसनले सडकमार्ग हुँदै नेपाल आउन चाहने थाइ पर्यटकलाई लक्षित गर्दै बैंकक-म्यानमार-भारत-काठमाडौं सिधा बस चलाउने तयारी अघि बढाएको हो ।
यसका लागि एसोसिएसनले बैंककमा सबैजसो पर्यटन व्यवसायीसँग छलफल गरिसकेको छ । सबैतिरबाट सकारात्मक प्रतिक्रिया लिएपछि सडक सञ्जालमार्फत अन्तर्देशलाई जोड्न थालिएको एसोसिएसनका अध्यक्ष कृष्ण आचार्यले बताए ।
निजीक्षेत्र र दूतावाससँग पटक-पटक छलफल भइसकेकोले सरकारले कुटनीतिक पहल गरिदिने हो भने छिट्टै बस सञ्चालनमा आउन सक्ने उनले बताए ।
बैंकक-काठमाडौंको दुरी करिब चार हजार किलोमिटर हुनेछ । बैंकक-म्यानमार-भारत हुँदै नेपालको काँकडभिट्टा नाका प्रवेश हुनेछ। यहाँसम्मको दुरी तीन हजार तीन सय ७५ किलोमिटर रहेको छ । काँकडभिट्टाबाट सात सय किलोमिटर दुरीमा सिधैं काठमाडौं आइपुगिनेछ ।
बैंककबाट करिब २५ देखि २८ घन्टामा काँकडभिट्टा आइपुगिनेछ । यो भनेको काठमाडौंबाट धनगढी पुग्न लागे जत्तिकै समय हो । नेपालका बाटोहरु खराब भएकोले थोरै दुरीको यात्रा गर्न पनि धेरै समय लाग्ने गरेको छ । तर विदेशमा राम्रो बाटो हुँदा २५ घण्टामै नेपाल पुगिने अपेक्षा गरिएको छ ।
समग्रमा यो यात्राका लागि दुई दिनको समय लाग्ने अनुमान गरिएको छ । अन्तर्देशीय सडक सञ्जाललाई जोड्न सकेमा पर्यटक भित्र्याउन ठूलो योगदान हुने अपेक्षा छ ।
हाल थाइल्यान्डबाट मासिक पाँचदेखि १० हजार पर्यटक र भारतबाट मासिक ४० देखि ५० हजार पर्यटक नेपाल भ्रमणमा आउने गरेका छन् ।
सरकारले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । साथै सन् २०२३ देखि २०३२ सम्मलाई पर्यटक दशकका रूपमा घोषणा गरेको छ । सन् २०३२ सम्म पुग्दा वार्षिक ३५ लाख पर्यटक भित्र्याउने सरकारको कार्य योजना छ ।