करिब २५०० अंक पुगेर फर्कियो नेप्से, कारोबार १५ अर्ब नाघ्दा सोल्टी होटलको सर्वाधिक
काठमाडौं । सेयर बजार परिसूचक नेप्से करिब २५०० अंकको नजिक पुगेर फर्केको छ । योसँगै नेप्सेमा लगातार दोस्रो कारोबार दिन पनि १५ अर्ब माथिको कारोबारसमेत भएको छ ।
आइतबार बजार परिसूचक नेप्से ६१.६१ अंक (२.५४ प्रतिशत) ले बढेर २४८५.९४ को बिन्दुमा बन्दा हुँदा कारोबार रकम १५ अर्ब नाघेको हो । यसमा सबैभन्दा धेरै पर्यटन समूह अन्तर्गतको सोल्टी होटलको सर्वाधिक ३४ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । एक समय नेप्से परिसूचक २४९५ बिन्दुसम्म पुगेपनि बन्द हुँदा २४८५ बिन्दुमा बन्द भएको हो ।
१६ असारमा २०३७.०९ को बिन्दुमा बन्द भएको नेप्से त्यसयताको १५ कारोबार दिनमा नै ४४८.८५ अंक (२२.०३ प्रतिशत) ले बढेको छ । छोटो अवधिमा नेप्से परिसूचमा उच्च वृद्धि भएकोले त्यसले लगानीकर्मा जोखिम समेत बढाएको छ । आइतबार लगतार चौथो कारोबार दिन नेप्से परिसूचक ५० अंकभन्दा माथिको वृद्धि भएको हो । गत सातको मंगलबार नेप्से ७०.१८ अंक, बुधबार ५४.०४ अंक र बिहीबार ५९.६८ अंकले बढेको थियो ।
आइतबार पनि नेप्से परिसूचक सोही गतिमा बढ्दा कारोबार लगतार दोस्रो दिन पनि २०७८ भदौयताकै उच्च देखिएको छ । जतिबेला बजार परिसूचक नेप्से करिब ३२०० को बिन्दुमा पुगेको थियो ।
गत बिहीबार १५ अर्ब ५५ करोडको कारोबार भएको बजारमा आइतबार पनि १५ अर्ब २३ करोडको कारोबार भएको हो । १ लाख ७७ हजार ४६० वटा कारोबारमा ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
आइतबार नेप्सेमा सबै उपसमूहहरु बढेको छन् । बजारलाई लिन गर्ने बैंकिङ उपसमूह नै ३.८६ प्रतिशतले वृद्धि हुँदा बजार परिसूचक उच्च अंकले बढ्न मद्धत गरेको छ । व्यापार उपसूचक ६.८० प्रतिशतले बढ्दा होटल तथा पर्यटा उपसूचक ४.२१ प्रतिशतले बढेको हो ।
आइतबार बजारमा कारोबार भएका २४२ सूचीकृत कम्पनीमध्ये १८१ कम्पनीको सेयरमूल्य बढेको छ । ५६ कम्पनीको मूल्यमा गिरावट हुँदा ५ कम्पनीको स्थिर छ ।