धुर्मुस-सुन्तलीले ४० प्रतिशत पुरा गरेर छोडेको गौतमबुद्ध रङ्गशालाको काम ३ वर्षपछि सुरु हुँदै

८ साउन, चितवन । २०७८ साउन २२ गतेबाट निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम ठ्याक्कै तीन वर्षपछि पुनः सुरु हुने भएको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ रामपुरमा बन्न लागेको रंगशालाको बाँकी निर्माण आगामी साताबाट सुरु हुने भरतपुर महानगरपालिकाले जनाएको छ ।
रंशगाला निर्माणको बाँकी काम गर्न निर्माणको ठेक्का पाएको हिमालयन, कालिञ्चोक बीबीआर जेभीले काम सुरु गर्ने तयारी गरेको छ । ठेकेदार कम्पनी र महानगरका प्रतिनिधिले बुधवार र बिहीवार मैदानको निरीक्षण गरेर काम सुरु गर्ने मितिको टुंगो लगाउनेछन् ।
साइट अफिसको मर्मत, कामदार भवन मर्मत, रंगशालाभित्रको सरसफाइ लगायतका काम गरेपछि पूर्वाधारको काम सुरु हुने छ । निर्माण कम्पनीसँग कामको तालिका समेत लिएर काम गराउने महानगरको योजना छ ।
सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाउन्डेसनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । यसमा अरु १० हजार प्याराफिट तयार गरिनेछ ।
३० महिनाभित्र सक्ने गरी निर्माण कम्पनीले भरतपुर महानगरपालिकासँग गत असार २३ गते ठेक्का सम्झौता गरेको थियो । २०८३ पुस २२ गतेसम्म निर्माण सक्नुपर्नेछ ।
रङ्गशालाकाो निर्माण लागत ७५ करोड ५० लाख ९१ हजार १ सय ८९ रुपैयाँ रहेको छ । रंगशाला निर्माणका लागि आगामी आर्थिक वर्ष संघीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले ४ करोड ८० लाख बजेट विनियोजन गरेका छन् । यस्तै बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत रकम बेहोर्ने निर्णय गरेको छ । रंगशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रकम दिने निर्णय गत माघ २३ गते गरेको थियो ।