कृषि अनुदान दुरूपयोग गर्नेको नाम सार्वजनिक हुन्छः कृषि मन्त्री
टुरिजमफेस
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि अनुदान दुरूपयोग गर्नेहरूको नाम सार्वजनिक गर्ने जानकारी दिएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले कृषि अनुदानको व्यापक दुरूपयोग भएको गुनासो आएकाले तत्काल अनुदान लैजानेहरूको नाम सार्वजनिक गर्ने बताए । उनले अनुदान लिएर पनि उत्पादनमा कुनै योगदान नगर्नेलाई भने कारवाही गरिने बताए । ‘कतिपयले प्राविधिक सेवा नपाएका कारण उत्पादनमा ह्रास आएको भए पनि कतिपयलाई कृषिमा टिक्न गाह्रो भइरहेको छ, त्यसैले कृषि पेसा टिकाउन नसक्नेका लागि मन्त्रालयले प्राविधिक सेवालाई तीनै तहबाट विस्तार गर्नेछ र राम्रो गर्नेलाई थप प्रोत्साहन दिनेछौं,’ उनले भने, ‘तर गलत गर्नेलाई भने छाड्ने छैनौं ।’ उनले किसानको वर्गीकरण गरेर किसान कार्ड वितरण गरिने समेत बताए ।

त्यस्तै मन्त्री अधिकारीले दुग्ध किसानले पाउनु पर्ने बक्यौता रकम उपलब्ध गराउन थालिएको दावी गरे । सरकारले किसानलाई दूधको १ अर्ब २७ करोड ४३ रकम भुक्तानि गर्न बाँकी छ । रासायनिक मल खरिद प्रक्रियालाई छिटो र छरितो बनाउनुको साथै निजी क्षेत्रलाई पनि मल खरिद र वितरणमा सहभागी गराउन गृहकार्य सुरु भइसकेको समेत उनको भनाइ छ ।
