पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा पर्यटनमन्त्रीको सक्रियता, होलान त अन्तर्राष्ट्रिय उडान ?

टुरिजमफेस
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र गौतम बुद्ध भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन विभिन्न प्रयास गरिरहेका छन् ।
यसै सन्दर्भमा उनले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिसँग पनि छलफल थालेका छन् । मंगलबार पर्यटनमन्त्री पाण्डेले अन्तराष्ट्रिय वायुसेवा सञ्चालकका प्रतिनिधिसँग छलफल गरे । सोही क्रममा मन्त्री पाण्डेले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन सरकारले विभिन्न प्याकेज ल्याएको र त्यस्ता प्याकेज उपयोग गर्न आग्रह गरे ।
सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउन खोजेको भन्दै उनले देशको जटिलता बुझेर यस्तो निर्णय गरिएको बताए । उनले दुइटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नीतिगत, व्यावसायिक र सुरक्षाका क्षेत्रमा निरन्तर छलफल गर्न सरकार तत्पर रहेको उल्लेख गर्दै चीन, भारत लगायत देशबाट पोखरा र भैरहवामा पर्यटक भित्र्याउन सकेको अवस्थामा नेपालमा पर्यटन क्षेत्रबाट लाखौं राजस्व संकलन हुने समेत बताए ।
छलफलका क्रममा मन्त्री पाण्डेले हवाई रुटका विषयमा सरकार भारतसँग कूटनीतिक छलफलमा रहेको बताए । छलफलमा दर्जनभन्दा बढी वायु सेवा सञ्चालकका प्रतिनिधिको उपस्थिति थियो । निर्माण कार्य सम्पन्न भएको लामो समय बिते पनि पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउँदा ती विमानस्थलमा खर्च भएको ठूलो रकम उपयोगविहीन मात्र भएको छैन स्थानीयले होटललगायतका पूर्वाधार गरेको लगानी पनि खेर गइरहेको छ । स्थानीयले विमानस्थल सञ्चालनका लागि आग्रह गर्दै आए पनि अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् ।