कतार एअरको पनि भैरहवाबाट उडान, भाडा भने काठमाडौं जत्तिकै

टुरिजमफेस
काठमाडौं । कतार एअरवेजले पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दैछ । मंगलवारदेखि कतारको राजधानी दोहादेखि भैरहवासम्म कतार एअरले दैनिक एक उडान गर्ने अनुमति लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।
भैरहवामा उडान गर्ने कतार पाँचौ कम्पनी बनेको छ । यसअघि नेपाल एयरलाइन्स, फ्लाइ दुबई, जजिरा र थाई एयर एसियाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान थालिसकेका छन् ।
अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूले उडान थालेसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको सम्भावना बढ्दै गएको महसुस गरिएको छ । यद्यपि कतिपयले भने विभिन्न अवरोध सृजना गरिरहेका छन् ।
काठमाडौंको तुलनामा भैरहवा पुग्न विमानहरूलाई छोटा दुरी पर्ने भए पनि हाललाई भाडा दर भने काठमाडौं सरह नै कायम गरिएको छ । भैरहवामा यात्रुको संख्या बढ्दै गएपछि भाडादर पुनरवलोकन हुने भनिएको छ ।