रात्रिकालीन उडानमा बुद्ध एअरले एक हजार रूपैयाँसम्म भाडा घटायो

टुरिजमफेस
काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एअरले रात्रिकालीन उडानको भाडा घटाएको छ । अहिलेलाई भद्रपुर, नेपालगन्ज, जनकपुर र पोखरामा हुने रात्रिकालीन उडानमा भाडा घटाइएको बुद्ध एअरले जनाएको छ । जस अनुसार पोखराका लागि प्रति व्यक्ति ५ सय, जनकपुरधामका लागि ८ सय तथा भद्रपुर र नेपालगन्जका लागि १ हजार रूपैयाँ भाडा घटाइएको कम्पनीले जनाएको छ ।
त्यस्तै काठमाडौं विमानस्थलको स्तरोन्नति तथा सीमित उडान हुने भएपछि बुद्ध एअरले भैरहवा तथा पोखराबाट पनि अतिरिक्त उडान थालेको जनाएको छ ।
पोखराबाट सातामा नेपालगन्जमा तीन उडान हुने गरेकोमा उसले अब दैनिक उडान गथालेको छ । त्यसैगरी भैरहवाबाट पोखराका लागि दैनिक १ अतिरिक्त उडान थप गरेको छ । साथै काठमाडौं वा पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा आउजाउ गर्ने यात्रुलाई बुद्ध एअरले हरेक उडानमा २५ केजी सामान पनि छुट दिएको बताएको छ ।