मण्डला नोर्लिङ लर्ड्स प्राइम होटल सञ्चालनमा
टुरिजमफेस
काठमाडौं । भारतीय चेन होटल कम्पनी लर्ड्सले काठमाडौं, महाराजगञ्जमा होटल मण्डला नोर्लिङ लर्ड्स प्राइमका नाममा नयाँ लक्जरी होटल सञ्चालनमा ल्याएको छ । सुविधासम्पन्न उक्त होटलमा सुपर डिलक्स, डिलक्स र सुइट रुम गरी ८६ कोठा छन् । आठ रोपनी क्षेत्रफलमा निर्माण गरिएको मण्डला नोर्लिङ होटलमा तीन भवन रहेका छन् ।
होटलको एउटा भवनमा चाइनिज रस्टुेरेन्ट र स्पा, अर्कोमा मुख्य होटल र तेस्रो पार्टीको लागि छुट्याइएको छ । भारतीय कम्पनी लर्डस प्राइमले व्यवस्थापन गर्ने यो होटलमा होटलमा नेपाली पर्यटन उद्यमीहरूको लगानी रहेको होटलका कार्यकारी अध्यक्ष तथा नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख डा. धनन्ज्य रेग्मीले जानकारी दिए । महाराजगञ्ज चक्रपथमा रहेको होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोमिटरको दुरीमा रहेको छ । सजिलो लोकेशनमा रहेका कारण यहाँ बस्ने पर्यटकहरूले पशुपतिनाथ मन्दिर, बौद्धनाथ स्तुपा, बसन्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, बुढानिलकण्ठ मन्दिर र ठमेल नजिकैका पर्यटकीय आकर्षणहरू र विश्व प्रसिद्ध युनेस्को सम्पदा बुढानिलकण्ठ तथा ठमेलदेखि सहज रूपमा पुग्ने अपेक्षा गरिएको छ ।
भारतमा दर्जनौं चेन होटल सञ्चालनमा ल्याएको लर्डले यसअघि काठमाडौंको बौद्धमा दुईवटा, वीरगञ्ज, नेपालगञ्ज र भैरहवामा एक÷एक होटलको व्यवस्थापन गरिसकेको छ । आगामी दिनमा पोखरा, चितवन र नेपालका अन्य भागमा पनि होटल विस्तारको योजना राखिएको लर्डस गु्रप नेपालका एशोसियट भाइस प्रसिडेन्ट शैलज एन तेरीले जानकारी दिए । मण्डला नोर्लिङ होटलको रुपटप स्वीमिङ पुलको व्यवस्था छ । ३६० डिग्री भ्यू, दुई वटा रेस्टुरेन्ट, बार रहेको रहेको यो होटलमा भित्री र बाहिरी पार्किङमा करिब तीन सय गाडी अटाउन सक्छन् । पछिल्लो समय नेपालमा स्तरीय होटलहरूको संख्या बढिरहेको सन्दर्भमा यो होटलको सञ्चालनले नेपालको पर्यटन विकासमा योगदान पुग्ने होटल व्यवस्थापनले अपेक्षा गरेको छ ।