तोकिएको काम नगर्ने तीन बैंकलाई राष्ट्र बैंकले गरायो सचेत

टुरिजमफेस
काठमाडौं । तोकिएको काम गर्नुपर्नेमा त्यसो नगरेपछि नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका प्रभु, हिमालय र एनआइसी एसिया बैंकलाई सचेत गराएको छ ।
राष्ट्र बैंकका अनुसार प्रभु बैंकलाई सञ्चालक चयनको विषयलाई लिएर कारबाही गरिएको हो । प्रभु बैंकमा रिक्त सञ्चालकको नियुक्ति सञ्चालक समितिबाट हुनुपर्नेमा त्यसो नगरी त्यसअघिकैलाई निरन्तरता दिइएको थियो । त्यस्तै पुँजी कोष पर्याप्तता अनुपात गणनाको क्रममा प्राथमिक पुँजीबाट घटाउनु पर्ने रकम नघटाएको, केही कर्जाहरूमा कम जोखिमभार देखाएको भन्दै राष्ट्र बैंकले प्रभु बैंकलाई सचेत गराएको छ ।
एनआइसी एसिया बैंकले आफ्ना सञ्चालक र तिनका परिवारका सदस्य, सम्बद्घ संस्थाहरूलाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज दिएको, पुरानो मिति राखेर समेत यस्तो खातामा ब्याज दिएपछि सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको निर्देशनपछि बढी दिएको ब्याज बैंकले फिर्ता ल्याउने व्यवस्था गरेको छ । एनआइसी एसियाले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिमभार सम्बन्धी निर्देशन, ब्याजदरसम्बन्धी निर्देशन एवम् संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशनको पालना नगरेको समेत राष्ट्र बैंकले उल्लेख गरेको छ ।
राष्ट्र बैंकले एनआइसी एसियालाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी, ब्याजदर र पुँजीकोष र जोखिमभार सम्बन्धी निर्देशन कार्ययोजना बनाएर लागु गर्न निर्देशन पनि दिएको छ । हिमालयन बैंकले भाका नाघेका कर्जा अनुसार वर्गीकरण नगरेको पाइएपछि सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।