रेस्टुरेन्ट व्यवसायी कटुवाल बेलायतका १०० प्रभावशाली व्यक्तिको सूचीमा

टुरिजमफेस
काठमाडौं । बेलायतमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका सुजन कटुवाल बेलायतका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी कटुवाल सन् २०२५ का लागि बेलायतको एक सय प्रभावशाली व्यक्ति बन्न सफल भएका हुन् ।
बेलायतको अवार्ड इन्टेलिजेन्सले हरेक वर्ष समेट्ने बेलायतका एक सय प्रभावशाली व्यक्तिको विजेता सूचीमा यो वर्ष कटुवाल समेटिए ।
कटुवालले पटकपटक गरी दुई लाख ५० हजारभन्दा बढी घरबारविहीनलाई खाना उपलब्ध गराएको र पूर्वबेलायती सेनाको मानसिक स्वास्थ्य सेवा सहयोगार्थ ६ हजार माइल पैदलयात्रा गरी मानवीय सेवामा महत्वपूर्ण भूमिका खेलेकाले सय प्रभावशाली व्यक्ति चुनिएको इन्टेलिजेन्सले जनाएको छ ।
सो सूचीमा बेलायतको समाजसेवामा महत्वपूर्ण भूमिका खेल्ने सरकारी अधिकारी, समाजसेवीदेखि प्रोफेसर एवं चिकित्सकहरू समेत छन् ।
कटुवाल बेलायतको साउथ लन्डनस्थित पानस गोर्खा रेस्टुरेन्टका सञ्चालक हुन् । बेलायतमा दर्ता भएको परोपकारी संस्था ‘कम्ब्याट स्ट्रेस’ को सहयोगार्थ कटुवालले दुई पटक ६ हजार माइलको पैदल यात्रा गरेका थिए । गैरसरकारी संस्था कम्ब्याट स्ट्रेसले सेवा निवृत्त सैनिकलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँछ ।
त्यस्तै कटुवालले कोरोनाका कारण संकटमा परेकाहरूलाई निःशुल्क खाना उपलब्ध गराएका थिए । पानस हेल्पिङ ह्यान्ड्स च्यारिटीसमेत सञ्चालन गरिरहेका कटुवालले कोभिड लकडाउनका समयमा एक लाखभन्दा बढी स्वास्थ्यकर्मी तथा घरविहीन मानिसलाई निःशुल्क खाना उपलब्ध गराएर सिटी अफ लन्डनबाट ‘फ्रिडम अफ द सिटी अफ लन्डन’ अवार्ड पाएका थिए ।
उनले सञ्चालन गरेको सामाजिक संस्था हेल्पिङ ह्यान्ड्सले ‘प्वाइन्ट्स अफ लाइट’ अवार्ड समेत जित्न सफल भएको थियो । विराटनगरमा जन्मिएका कटुवाल सन् १९९८ मा बेलायत गएका हुन् । रासस