बुद्ध एयरले १ वर्षमा दियो करिब साढे २६ लाखलाई सेवा

टुरिजमफेस
काठमाडौं । बुद्ध एयरले सन् २०२४ मा २६ लाख ४८ हजार यात्रुलाई सेवा दिएको छ । यो संख्या सन् २०२३ को तुलनामा ७१ हजार ४६ जना बढी हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा आन्तरिक उडानका हवाई उडानको सख्ंया ७.७२ प्रतिशतले बढेको छ ।
आन्तरिक उडानमा बुद्ध एयरको यात्रु उडान संख्या बढेको र जहाज संख्यासमेत बढेर १८ पुगेको छ । मा बुद्ध एयरको सेवा सन् २०२२ २४.८१ र सन् २०२३ मा २४ प्रतिशतले बढेको थियो । तर पछिल्लो पटक भने वृद्धि दर त्यति उत्साहजनक छैन । खासगरी अन्य हवाई कम्पनीका कारण वृद्धि दर कम भएको बताइएको छ । आन्तरिक उडानको अर्को अग्रणी वायुसेवा कम्पनी यति एयरलाइन्सको यात्रु सेवा भने गत वर्ष सन् २०२३ को तुलनामा २ लाख ३३ हजार ६१२ ले बढेको छ ।
यस्तो यात्रु सेवाको वृद्धिदर यति एयरको हकमा भने ३२.५८ प्रतिशतले बढेको छ । सन् २०२४ मा ९ लाख ५० हजार यात्रुलाई सेवा दिएको यतिले सन् २०२३ मा ७ लाख १७ हजारलाई यात्रुलाई मात्रै सेवा दिएको थियो । यतिको यात्रु सेवा अघिल्लो वर्ष २०२२ को तुलनामा सन् २०२३ मा करिब २ लाखले घटेको थियो भने सन् २०२४ मा आउँदा यो वायुसेवाले उल्लेख्य प्रगति गरेको छ । यतिले सन् २०२२ मा ९ लाख ३७ हजार यात्रुलाई सेवा दिएको थियो ।
आन्तरिक उडानको श्री एयरलाइन्सले पनि सन् २०२४ मा ६ लाख ९४ हजार यात्रुलाई सेवा दिएको छ । यो वायुसेवाको यस्तो यात्रु सेवा अघिल्लो वर्षको तुलनामा ८९ हजारले बढेको छ । अघिल्लो वर्ष सन् २०२२ मा श्रीको यात्रुसेवा ६ लाख ५ हजार ३३८ थियो ।
आन्तरिक उडानमा सीता एयरको यात्रु सेवा भने घटेको छ । यो वायुसेवाले सन् २०२४ मा १७ हजार ४३२ यात्रुलाई सेवा दिएको छ । यसले सन् २०२३ मा २१ हजार यात्रुलाई सेवा दिएको थियो ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम आन्तरिक उडानमा भने निकै कमजोर हुँदै गएको छ । निगमले सन् २०२४ मा जम्मा ११ हजार २७५ यात्रुलाई मात्रै सेवा दिएको छ । यस्तो यात्रु सेवा अघिल्लो वर्ष सन् २०२३ मा १३ हजार २७८ थियो ।
जहाज संख्या कम भएको र दुर्गम क्षेत्रमा मात्रै उडान गर्ने साना जहाजका कारण यो वायुसेवाले यात्रु सेवा संख्या वर्षेनी घटाउँदै गएको छ । यो वायुसेवाले अघिल्लो वर्ष सन् २०२२ मा भने १७ हजार ४१७ यात्रुलाई सेवा दिएको थियो ।