बागलुङमा पहिरोको वितण्डा : १० जनाको मृत्यु, एक बेपत्ता
बागलुङ । बागलुङमा लगातारको वर्षापछि गएको पहिरोमा परी पछिल्लो दुई दिनमा १० जनाको ज्यान गएको छ । पहिरोमा एक जना अझै बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आइतबार मात्रै तमानखोला र निसीखोला गाउँपालिकामा गरी नौ जनाको मृत्यु भएको हो । यसअघि शनिबार ताराखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको थियो ।
तमानखोला गाउँपालिका–३ धर्नासुकमा पहिरोले घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ । सोही क्षेत्रमा पहिरोले आठवटा घरसमेत बगाएको छ ।
यस्तै, तमानखोला–४ सन्तरमा घर पहिरोले पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । हस्तवीरकी श्रीमती भने पहिरोमा परी बेपत्ता भएकी छन् ।
निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एउटै परिवारका चार जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका १३ वर्षीय छोरा मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक छन् ।
निसीखोला–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार पूर्वसूचना तथा समयमै गरिएको सतर्कताका कारण थप मानवीय क्षति हुनबाट रोकिएको हो । पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।
तनहुँमा बाढीपहिरोबाट २४ घर प्रभावित
लगातारको वर्षापछि आएको बाढी र पहिरोले तनहुँका विभिन्न स्थानीय तहमा २४ घरमा क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिकाका पाँच, म्याग्दे गाउँपालिकाका दुई, घिरिङ गाउँपालिकाका छ, ऋषिङ गाउँपालिकाका दुई, बन्दीपुर गाउँपालिकाका चार र भानु नगरपालिकाका पाँच घरमा क्षति पुगेको छ ।
क्षतिग्रस्त घरका परिवारलाई प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । जिल्लामा भएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
व्यास नगरपालिका–१ स्थित राइस मिलमा पहिरोका कारण क्षति पुग्दा एक सय बोरा धान भिजेको छ । भिमाद नगरपालिका–६ मालेबगरमा रहेको कुखुराफार्म र बङ्गुरको खोरसमेत बाढीले बगाएको छ ।
सीता गुफा परिसरमा कालीगण्डकीको बाढी
तनहुँको देवघाट गाउँपालिका–५ स्थित सीता गुफा परिसरमा कालीगण्डकी नदीमा आएको बाढीले विभिन्न संरचना तथा सामग्रीमा क्षति पुर्याएको छ ।
बाढीले सीता गुफानजिक रहेको शौचालय, बाथरुम, ठूलो ढुङ्गामा कुँदिएको १०८ शिवलिङ्गसहितको ओमकार मूर्ति, स्टोरमा राखिएका सामग्री तथा ओढ्ने–ओछ्याउने सामान बगाएको प्रहरीले जनाएको छ ।
बाढीको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय देवघाटबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले गुफामा पूजा गर्दै आएका ७६ वर्षीय पुजारी शिवानन्द गिरीलाई सुरक्षित स्थानमा सारेको जनाएको छ ।
