शान्तिपूर्ण आन्दोलनमा सरकार संरक्षित व्यक्तिहरू पसेर ढुंगामुढा गरेः शिक्षक महासंंघ

टुरिजमफेस
काठमाडौं । नेपाल शिक्षक महासंघले शान्तिपूर्ण आन्दोलनमा सरकार संरक्षित व्यक्तिहरू प्रवेश गरी ढुंगामुढा गरेको आरोप लगाएको छ । आइतवार भएको प्रदर्शनमा ढुंगामुडा हुँदा करिब ६२ जना शिक्षक घाइते भएका थिए ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गरी सरकारद्वारा संरक्षित व्यक्तिहरू आन्दोलनमा प्रवेश गरी ढुंगामुडा गरेको आरोप लगाएका हुन् । ‘शान्तिपूर्ण आन्दोलन र विरोध सभामा सरकारद्वारा संरक्षित केही भिजिलान्तेहरु पसेर ढुंगामुडा गरी स्थिति भड्काउ बनाई त्यसैको आडमा प्रहरीबाट शिक्षक–कर्मचारीमाथि निर्मम ढङ्गबाट लाठी प्रहार गर्ने काम भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
सरकारको दमनको विरोधमा उत्रिन महासंघले सबै पेसागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपालीमा अपिल समेत गरेको छ । महासंघले विद्यालय शिक्षा ऐनबिना आफ्नो कार्यक्षेत्रमा नफर्किने जनाएको छ । महासंघले देशभरका सबै शिक्षक–कर्मचारीलाई अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौं आई आन्दोलनमा सहभागी हुन अपिलसमेत गरेको छ ।