पार्टी एकीकरण दिन रेशम चौधरी साढे ४ घण्टा जेलमा

टुरिजमफेस
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी साढे चार घण्टासम्म जेल बस्नु परेको छ । सर्वोच्च अदालतका एक अधिकृतले उनलाई पक्राउ गर्न लेखेको पत्रको आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो । पछि त्यो पत्र आधाकारिक नभएको भन्दै सर्वोच्च अदालतले प्रष्टीकरण दिनु परेको थियो र चौधरीलाई रिहा गर्न पत्राचार गरेपछि उनी डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।
सर्वोच्चका अधिकृतले लेखेको पत्रको आधारमा प्रहरीले चौधरीलाई प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो । उनको पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीबीच एकीकरणको कार्यक्रम चल्दै गर्दा चौधरी पक्राउ परेका थिए । उनी रिहाइको प्रक्रिया मिलाउँदा साढे चार घण्टा समय लागेको थियो ।