लैंगिक हिंसा सचेतना लागि मनकामना दर्शन प्रालि र युएनएफपिएबीच सहकार्य

टुरिजमफेस
काठमाडौं । मनकामना दर्शन प्रालि र संयुक्त राष्ट्रसंघीय निकाय युएनएफपिएबीच लैंगिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धि र सुदृढीकरण सहयोगका लागि सम्झौता भएको छ ।
काठमाडौंमा गरिएको सम्झौतामा युएनएफपिएको तर्फबाट योन योङ हौंग र मनकामना दर्शन प्रालिका तर्फबाट यसु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यस साझेदारीमार्फत दुबै पक्षले आगामी दुई वर्षसम्म पैरवी र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्दै महिला तथा किशोरीलाई सूचना प्रदान गर्ने र हिंसा प्रभावितका लागि पुनस्र्थापनाका अवसरहरू प्रदान गर्दै सुरक्षित र समावेशी वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ ।
मनकामना दर्शन प्रालिले लैंगिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धिका लागि विभिन्न स्थानमा जस्तै टिकट काट्ने स्थानहरूमा पोष्टर, पम्पलेटमार्फत सूचना सम्प्रेषण गरिने बताइएको छ । सचेतना र क्षमता अभिवृद्धिबाहेक यस साझेदारीमार्फत हिंसा प्रभावितका लागि आय आर्जनको अवसर प्रदान गर्दै समाजमा पुनस्थापनाका लागि स्थानीय श्रम र अन्य व्यापारिक संस्थासँग जोड्ने उद्देश्य राखिएको प्रेस विज्ञप्तिमार्फत जनाइएको छ ।
हस्ताक्षर समारोहमा बोल्दै युएनएफपिएकी प्रतिनिधि हौंगले युएनएफपिएले राखेको लक्ष्य प्राप्त गर्न नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नीजि क्षेत्र सामाजिक मर्यादा, समानता र सुरक्षाका सवालहरूसँग एकाकार हुने र उनीहरू परिवर्तनका सशक्त संवाहक बन्ने बताइन् । मनकामना दर्शन प्रालिका श्रेष्ठले लैंगिक समानता र सामाजिक उत्तरदायित्व प्रति संस्थागत प्रतिवद्धता जाहेर गर्दै युएनएफपिएसँगको साझेदारीमा महिला, किशोरी सुरक्षित वातावरणका लागि काम गर्नु गौरवको विषय रहेको बताइन् ।