कर्णालीको पर्यटन प्रचारप्रसार गर्न आयोजित रारा ट्रेल रनको उपाधि सुनमाया र युगराज बुढालाई

महिलातर्फ रारा ट्रेल रनको उपाधि विजेता सुनमाया बुढा
टुरिजमफेस
मुगु । जुम्लाका सुनमाया बुढा र युगराज बुढाले नेपाली सेनाले आयोजना गरेको रारा ट्रेल रनको उपाधि जितेका छन् । नेपालको सबैभन्दा ठूलो ताल रारा वरिपरि १६ किमी दूरी कायम गरी नेपाली सेनाले रारा ट्रेल रनको आयोजना गरेको थियो । जसमा पुरूषतर्फ युगराज बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम भए । पुरुषतर्फ सोमबहादुर रावत द्वितीय र चन्द्र रावत तृतीय हुन सके ।
महिलातर्फ कल्पना बुढा द्वितीय र राज्यलक्ष्मी रावल तृतीय भए । प्रथम हुने खेलाडीलाई उत्तर पश्चिम पृतनापति तथा उपरथी अनुपजङ्ग थापाले, द्वितीय हुने खेलाडीलाई बाहिनीपति तथा सहायकरथी सञ्जय देउजा र तृतीय हुने खेलाडीलाई प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले नगद पुरस्कार, प्रमाणपत्र र मेडल वितरण गरे । प्रथम हुने खेलाडीलाई नगद ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रूपैयाँसहित प्रमाणपत्र र मेडलसहित प्रदान गरियो ।
पाँचौँ रारा ट्रेल रनमा २ सय १३ जना सहभागी भएका थिए । कर्णालीको पर्यटन प्रचारप्रसार गर्न र जगबाटै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाली सेनाले प्रत्यक वर्ष रारा ट्रेल रनको आयोजना गर्दै आएको छ ।