प्रधानमन्त्रीको प्रश्न–क्यामेरा लुटिने देशमा पर्यटक कसरी आउँछन् ?

राष्ट्रिय पर्यटन संवादमा सहभागी प्रधानमन्त्रीसहित सरोकारवालाहरू ।
रुद्र खड्का
काठमाडौं । प्रधानमन्त्री कार्यालयमा सोमवार राष्ट्रिय पर्यटन संवाद कार्यक्रमले माहौल भिन्नै थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यक्रमको आयोजना गरेको भए पनि पर्यटन संवादमा प्रधानमन्त्रीसहित सात जना संघीय सरकारका मन्त्रीहरू तथा सचिव मात्र नभई सात वटै प्रदेशका पर्यटन मन्त्री र उच्च तहका कर्मचारी पनि सहभागी थिए ।
राष्ट्रिय पर्यटन संवाद भएकाले निजी क्षेत्रका पर्यटन व्यवसायी तथा अन्य सरोकारवालाहरूको पनि सहभागिता थियो । देशको उच्च तहमा रहेका व्यक्तिहरू सम्मिलित कार्यक्रम त्यो पनि बजेटको सम्मुखमा आयोजना गरिएकाले पर्यटन व्यवसायीले सरकारले नयाँ कार्यक्रम ल्याउन सक्ने अपेक्षाले सोही खाले सुझाव दिए ।
निजी क्षेत्रका व्यवसायी मात्र नभई संघीय र प्रदेश सरकारका मन्त्रीहरूले नेपालले आर्थिक लाभ लिन सक्ने पर्यटन मात्र भएको र यसका लागि प्रशस्तै सम्भावना पनि रहेको बताए । तर अधिकांशको जोड विद्यमान कार्यशैली पर्यटन क्षेत्रको विकासका लागि बाधक भएकाले सुधार हुनुपर्छ भन्ने थियो ।
लुम्बिनी प्रदेशका पर्यटन मन्त्रीले त बेलहिया नाका हुँदै आउने भारतीय पर्यटक प्युठानको स्वर्गद्वारीसम्म पुग्दा प्रहरीको कारवाहीमा मात्र प्रतिव्यक्ति २५ हजार रूपैयाँ खर्च गर्न बाध्य भएको उदाहरण पेश गरे । उनले प्रहरी, प्रशासनले अनाहकमा पर्यटकलाई दुःख दिएको बताइरहँदा गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक सुनेरै बसे ।
संघीय तथा प्रदेशका मन्त्री र पर्यटन व्यवसायीहरूले पर्यटन क्षेत्रका लागि गर्नुपर्ने सुधारका कामबारे बताइसकेपछि बोल्ने पालो प्रधानमन्त्री केपी शर्मा ओलीको आयो । ओलीले भने, ‘नेपालमा प्रशासनिक अवरोध छ भन्ने कुरा हामी सानै छँदा सुनेका हौं । अहिले पनि सुन्नु परिरहेको छ ।’
प्रधानमन्त्री त्यतिमा मात्र रोकिएनन् । श्रीलंकाबाट नेपाल घुम्न आएका त्यहाँका एक मन्त्रीलाई सम्झँदै ओलीले ती श्रीलंकाका मन्त्रीले तीन पटक नेपाल भ्रमण गरेपछि चौथोपटक नेपाल आउँदिन भनेको बताए । ओलीका अनुसार श्रीलंकाका ती मन्त्री तीन पटक नै नेपाल आउँदा ती मन्त्रीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुटकेश चोरी भएको थियो । ‘म पनि मन्त्री भएकाले लाजले सुटकेश किनिदिऊ कि जस्तो लागेको थियो तर सुटकेशभित्र के के थियो ? थाहा भएन र किन्न सकिनँ ।’
उच्च पदस्थ कर्मचारी सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले सुनाएको अर्को घटनाले पनि नेपालको कर्मचारी संयन्त्रलाई खुलेमखुल्ला जिस्क्याइरहेको छ । प्रधानमन्त्रीका अनुसार चितवन घर भई हाल अमेरिकाको सियाटल बस्दै आएका इञ्जिनियर तीर्थराज खनाल नेपाल आउँदा सुरुमा विमानस्थलका कर्मचारीले ५ सय अमेरिकी डलर मागे । ‘विदेशमा बस्ने भएकाले कमाइ पनि राम्रो होला भन्ने ठानेर सुरुमा ५ सय डलर मागेका रहेछन्,’ ओलीले भने, ‘तर उनले त्यो रकम दिन नमानेपछि कर्मचारीले अर्को उपाय निकालेछन् । र, खनाललाई अमेरिकाबाट ल्याएको भिडियो क्यामेराको बील खोइ भन्दै पक्राउ गरेछन् ।’
ओलीले थप्दै गए–पछि खनाल पक्राउ परेको थाहा पाएपछि अध्यागमनका महानिर्देशकलाई फोन गरेर रिहा गर्न सकियो तर भिडियो क्यामेरा भने गायब पारियो । ‘म लाग्दा पनि मुभी क्यामेरा भन्सारले खाएरै छाड्यो । यो खालको तरिकाले नेपालमा पर्यटक आउँदैनन्,’ ओलीले भने, ‘नेपालमा जालझेल धेरै भइरहेको छ । मान्छे बिच्क्याउने काम भइरहेको छ ।’
प्रधानमन्त्री ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झट नदिई न्यानो आतिथ्य दिन आग्रहसमेत गरेका छन् । विद्यमान अवरोधहरू हटाएर सुशासन र विकासको गतिलाई साहसिक ढंगले अगाडि बढाउन व्यापक सुधार गर्न आग्रह गर्दै प्रधानमन्त्रीले पर्यटक भित्र्याउने र अर्थतन्त्र राम्रो गर्ने हो भने सही निर्णय र दृढ कार्यान्वयन अहिलेको आवश्यकता रहेको बताए ।
पर्यटन क्षेत्रको विकासका लागि पर्यटन व्यवसायीहरूले हवाई टिकटमा लगाइएको भ्याट फिर्ता लिनुपर्ने, भारतीय पर्यटकले सय रूपैयाँ नोट त्यो पनि २५ हजार मात्र ल्याउन पाइने व्यवस्था खारेज हुनुपर्ने, नेपाल आउने पर्यटकका लागि हवाई टिकट निकै महँगो भएको, सडक पूर्वाधार र नेपालसँग यथेष्ट हवाई जहाज नहुनु जस्ता समस्यालाई सरकारले सम्बोधन गर्न आवश्यक रहेको मन्त्री, प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । त्यस्तै सरकारका विभिन्न निकायबीच समन्वय हुन नसक्नु, दक्ष जनशक्तिको अभाव, पर्यटकको आगमन बढ्न नसक्दा होटलको लगानी जोखिम रहेको जस्ता समस्या पनि पर्यटन व्यवसायीले उठाएका छन् ।
क्षेत्रगत समस्याको पहिचान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासमा देखिएका प्रमुख समस्या पहिचान गरी समाधानमा केन्द्रित योजना अघि सार्नुपर्ने बताए ।
‘नेपालको आर्थिक समृद्धिको मेरुदण्डका रूपमा पर्यटन क्षेत्र रहेको छ । सरकार विभिन्न नीतिगत सुधार गर्दै नवप्रवर्तनमूलक कार्यक्रम कार्यान्वयनमा ल्याइरहेको छ,’ उनले भने, ‘निजी क्षेत्रको प्रयास पनि अत्यन्तै सराहनीय छ । तर, अपेक्षाअनुसार लाभ लिन नसकेको अवस्था छ । जनशक्तिको अभाव, नीति कार्यान्वयनको कमजोरी, लगानीको खण्डिकरणजस्ता समस्या समाधान गर्नु अपरिहार्य छ ।’
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ‘नेपालको पर्यटन सम्भावनाको उजागर’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै नेपालको पर्यटन विकास, नीति तथा कानुनी अड्चन, चीन र भारतजस्ता ठूलो पर्यटक बजारबाट लाभ उठाउने रणनीति, तथा प्रकृति र संस्कृति आधारित गन्तव्यहरूको प्रवर्द्धनको आवश्यकता औंल्याए ।
राष्ट्रिय पर्यटन संवादमा सहभागी प्रधानमन्त्रीसहित सरोकारवालाहरू ।