फेवातालको सीमांकन सुरू, कति पुग्ला क्षेत्रफल ?

फेवाताल
टुरिजमफेस
पोखरा । पोखराको पर्यटकीयस्थल फेवातालमा सीमांकन सुरू भएको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै प्रदेश सरकार, पोखरा महानगरपालिका र स्थानीय प्रशासनको सक्रियतामा फेवातालमा सीमांकन सुरू गरिएको हो ।
यसअघि, सीमांकन गर्ने क्रममा स्थानीय जग्गाधनीले मुआब्जाको विषयमा आफूहरूसँग छलफल नगरी एकलौटी रूपमा काम अगाडि बढाइएको प्रति असन्तुष्टि व्यक्त गर्दै काममा अवरोध सिर्जना गरेका थिए ।
तालको मापदण्ड कार्यान्वयन गर्न गठित सहजीकरण समितिले फेवातालको नयाँ सीमासहितको क्षेत्रफल निकालेको थियो । उक्त समितिले फेवाताल छुट्ट्याउने गरी डिजिटल रूपमा एक हजार ५५ वटा पोल गाडिने जनाएको छ । तालको उच्चतम पानीको विन्दुमा सात वटा पोल गाडिएका छन् ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले फेवातालको किनारस्थित बाराहीघाटमा पोल गाडेर सीमांकनको शुभारम्भ गरे ।
सर्वोच्च अदालतको परमादेश आएको २३ महिनापछि फेवातालको नयाँ क्षेत्रफल कायम गरेको थियो । सहजीकरण समितिले २०८० माघ ११ गते फेवातालको सीमांकन गरी प्रतिवेदन पेस गर्न प्राविधिक उपसमिति सहित विभिन्न उपसमिति गठन गरेको थियो ।
सर्वोच्च अदालतले २०८० असार ४ गते फेवाताल किनारबाट ६५ मिटरसम्मका सबै संरचना हटाउन संघीय र प्रदेश सरकार तथा पोखरा महानगरपालिकाका नाममा उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो। उक्त परमादेशको पूर्णपाठ २०८० असोज ९ गते सार्वजनिक भएको थियो ।
पूर्णपाठमा वर्षायामको उच्चतम पानीको विन्दुबाट ६५ मिटरसम्मको क्षेत्रलाई मध्यवर्ती हरियाली क्षेत्र घोषणा गरेर सबै अस्थायी र स्थायी संरचना हटाउन परमादेश जारी गरेको थियो ।
उक्त आदेशमा २०३१ सालपछि दर्ता भएका फेवाताल परिसरका स्थानीयको जग्गामा मुआब्जासमेत दिन नपर्ने उल्लेख छ ।
फेवाताल