पठाओ/इन्ड्राइभ भन्छन् ‘भाडा बढाएका छैनौं अफलाइन नजानू, बढी भाडा मागे प्रहरीलाई खबर गर्नु’

काठमाडौं । पठाओ र इन्ड्राभले नेपालमा यातायात बन्द भएकै कारण भाडा नबढाएको दाबी गरेका छन् । नेपालमा सञ्चालित राइड सेयरिङ मध्ये बढी प्रयोगकर्ता भएका पठाओ र इन्ड्राइभका सञ्चालकहरुले भाडा नबढाएको तर अफलाइन राइडको कुरा इन्कार गर्न आग्रह गरेका छन् ।
राइड सेयरिङ कम्पनीहरू ‘पठाओ’ र इन्ड्राइभले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै भाडा बढाएको हल्लामा सत्यता नभएको बताएका हुन् ।
‘हामीले नियमित शुल्क मात्रै लिएको छौं, तसर्थ पठाओ एपमा कुनै पनि शुल्क वृद्धि छैन,’ पठाओले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘बरु यात्रुहरूलाई परेको असहज परिस्थितिमा सहजीकरण गर्न हामीले राइडरहरूलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर राइडरहरूलाई धेरै राइड गर्न प्रोत्साहन गरिरहेका छौं ।’
उनीहरुले अफलाइन यात्रा नगर्न समेत यात्रुहरूलाई आग्रह गरेका छन् ।
‘अफलाइन यात्रा गर्दा विभिन्न व्यक्ति ठगी, डकैती, दुव्र्यवहारमा परेको घटना यस अगाडि पनी आउने गरेकै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अफलाइन यात्रा गर्दा सो को रेकर्ड सिस्टममा नहुने, बिमा नहुने र विभिन्न प्रकारका अपराधिक घटनाको जोखिम हुने भएकाले मोबाइल एपबाट मात्रै राइड लिन हामी अनुरोध गर्दछौं ।’
यात्रूहरुको लागि सहजीकरण गर्न उच्च माग भएको बेला कार चालकहरूका लागि शून्य प्रतिशत कमिसन योजना र मोटरसाइकल चालकहरूलाई बोनस दिइने व्यवस्था गरेको समेत गरिएको उनीहरुको दाबी छ ।
यता अफलाइन राइड लिने र चर्को भाडा माग्ने गुनासो बढेपछि प्रहरीले समेत त्यस्तो अवस्थामा १०३ मा कल गर्न अनुरोध गरेको छ ।
यातायात व्यवसायीले नै यातायात नचलाउने निर्णय गरेका कारण काठमाडौं उपत्यका सहित देशभर सार्वजनिक यातायात चलेका छैनन् ।