विदेशी पर्यटकले भरिभराउ भयो हुम्ला, सिमकोट विमानस्थलमा एकै दिन १४ उडान

फाइल तस्वीर : हुम्लाको सदरमुकाम सिमकोट, विमानस्थल र आसपासको क्षेत्र । तस्बिर : दाने बोहरा / रासस
सिमकोट । नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा कम्पनीले बुधवार एकै दिन १४ वटा उडान भरेका छन् ।
सडक मार्गबाट जोडिन नसकेको हुम्ला सदरमुकामस्थित सिमकोट विमानस्थलामा नेपालगञ्जबाट सीता, समिट र तारा एयरका १४ वटा उडानमार्फत १५० जना भारतीय पर्यटक हुम्ला पुगेका हुन् ।
भारतीय पर्यटकहरु सिमकोटदेखि हिल्सा हुुँदै चीनमा रहेको मानसरोवर र कैलाश पर्वत दर्शनका लागि जान्छन् । काठमाडौँ–केरुङ हुँदै चीनको मानसरोवर तथा कैलाश जानभन्दा यहाँबाट सहज हुने भएकाले भारतीय पर्यटक रोजाइमा हुम्लाको बाटो पर्ने गरेको हो ।
सिमकोट विमानस्थलका कर्मचारी दीपेन्द्र भण्डारीका अनुसार गत जेठ २४ गते १२ जना विदेशी पर्यटक हुम्ला आएका थिए । उनका अनुसार यही असार २ गतेयता कैलाश मानसरोवर जानका लागि ३६२ भारतीय पर्यटक हवाई मार्ग हुँदै हुम्ला पुगेका छन् ।
नेपालगञ्जबाट हुम्ला पुगेका पर्यटकहरु हिल्सासम्म हवाईमार्ग र त्यहाँबाट सडकमार्ग हुँदै कैलाश मानसरोवर जाने गर्छन् । रासस
फाइल तस्वीर : हुम्लाको सदरमुकाम सिमकोट, विमानस्थल र आसपासको क्षेत्र । तस्बिर : दाने बोहरा / रासस