एउटै किसानले फलाउँछन् दैनिक पाँच सय केजी बोडी, कति हुन्छ आम्दानी ?

झापा । विर्तामोड नगरपालिका- ७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पुर्याउन भ्याइनभ्याइ छ ।
उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’ बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ ।
भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६ कट्ठामा खनालले बोडीखेती गरेका छन् । हाल आठ कट्ठामा फल लाग्न बाँकी नै र आठ कट्ठामा लहलह फलेको बोडी छ । सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर एक कट्ठाबाट तरकारीखेती सुरु गरेका खनालले कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा त्यसको विस्तार गर्नुभएको हो ।
उनले बोटबाट टिपेको बोडी नगरपालिकाका सातवटा सुपथ मूल्यका पसलमा बिक्रीका लागि लैजाने गरिएको बताए । पसलमा नगरपालिकाले तोकेको समर्थन मूल्यमा बिक्री हुने गरेको छ । यदि बजार भाउ खस्किएर कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता आयो भने नगरपालिकाले समर्थन मूल्य बराबरको रकम तिरिदिने भएकाले बजारको कुनै चिन्ता गर्नु नपरेको खनाल बताउँछन् ।
हाल प्रतिकेजी बोडी रु ३० देखि रु १०० सम्ममा बिक्री भइरहेको छ । कहिलेकाहीँ भने मूल्यमा उतारचढाव आउने गरेको उनले बताए । नगरपालिकाले तरकारीमा विषादीको अवशेष जाँच गरेर मात्र पसलमा बिक्रीका लागि अनुमति दिने गरेको छ ।
वार्षिक एक करोड मुनाफा
खनालको कृषि फार्ममा २० बिगाहामा धानखेती छ भने पाँच बिगाहामा विभिन्न प्रकारका तरकारी छन् । जसमध्ये १६ कट्ठामा बोडी, १५ बिगाहामा अम्बक, बयरलगायतका फलफूलखेती र चार बिगाहामा लौका, भिन्डी तथा खुर्सानी खेती गर्ने गरेको उनले जानकारी दिए ।
धान, तरकारी र फलफूलखेतीबाट वार्षिक एक करोड मुनाफा हुने खनालको दाबी छ । प्रत्येक वर्ष आम्दानी बढ्दै गएको छ । दर्जनौँ व्यक्तिले रोजगारी समेत पाएका छन् ।