चित्रकुट अर्थात हेलमेटे चरा

सुप्रदीप्त न्यौपाने
काठमाडौं । चित्रकुट (Long-tailed Broadbill) नेपालमा पाइने अत्यन्तै सुन्दर र आकर्षक पन्छी हो । करिब २५ सेन्टिमिटरको लामो यो पन्छीको टाउकोमा कालो टोपी अथवा हेलेमेट लगाएजस्तो देखिन्छ ।
अनुहार तथा घाँटी पहेंलो, शरीर हरियो–निलो र लामो पुच्छर हुन्छ । समूहमा बस्ने यो प्रजाति हिमालयदेखि दक्षिण–पूर्व एशियासम्म फैलिएको छ । नेपालमा शिवपुरी–नागार्जुन, फुल्चोकी, काठमाडौं, चितवन, बर्दिया, अन्नपूर्णलगायतका वन क्षेत्रमा देखिन्छ । प्रायः रूखको माथिल्लो भागमा सक्रिय रहने यसले कीरा, फलफूल, साना जनावर खाने गर्छ ।
यो पन्छीको बारेमा जानकारी दिन सकेमा पर्यटकलाई आकर्षण गर्ने अर्को माध्यम हुन सक्छ । विश्वमा चरा पारखी पर्यटकको संख्या बढ्दो छ । नेपालमा पनि निकै सुन्दर चरा पाइने भएकाले स्वदेशी मात्र नभई विदेशी पर्यटक पनि आकर्षित हुन सक्छन् ।