हिमाल संरक्षण र पर्वतारोहण व्यवस्थापनमा सहकार्य गर्न सरकार प्रतिबद्धः मन्त्री पाण्डे

टुरिजमफेस
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्वतारोहणसम्बन्धी नीतिगत सुधार, नियमन र सहजीकरणका लागि सरोकारवालाको सुझाव अपरिहार्य हुने बताएका छन् । पर्वतारोहण सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा पूर्वतयारी छलफल कार्यक्रममा बोल्दै उनले पर्वतारोहणको इतिहासलाई दस्तावेजबद्ध गर्ने र आन्तरिक–बाह्य चुनौतीको समाधानका लागि एकीकृत सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री पाण्डेले जलवायु परिवर्तनका असरबाट हिमाल जोगाउन अन्तर्राष्ट्रिय सहकार्य जारी रहेको उल्लेख गर्दै हिमालकै कारण नेपाल चिनिएकाले यसको संरक्षण गर्ने दायित्व भएको बताए । पर्यटन प्रहरीको सेवा, आरोहण संघको योगदान र विदेशी पाहुनासँगको व्यवहारबाट नेपालको छवि निर्माणमा महत्वपूर्ण भूमिका खेलेको समेत उनले बताए ।
पर्यटन विभागका महानिर्देशक डा. नारायण रेग्मीले कर्णाली र सुदूरपश्चिम प्रदेशका ९७ हिमाल आरोहणका लागि रोयल्टी छुट गरेको जानकारी दिँदै सरकारको उक्त कार्यले कर्णाली र सुदूरपश्चिमका हिमालको प्रचारप्रसार मात्रै नभई उक्त क्षेत्रमा पर्यटनको ढोका समेत खोलिने दाबी गरे ।