बैंक परिवर्तन हुँदा सामाजिक सुरक्षाभत्ता लिन वृद्धवृद्धालाइ सास्ती

टुरिजमफेस
खोटाङ । बैंक परिवर्तन हुँदा यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामाजिक सुरक्षाभत्ता लिने लाभग्राही समस्यामा परेका छन् ।
साल्पा विकास बैंकले यसअघि वितरण गर्दै आएको दशवटा वडामध्ये पाँचवटा लाभग्राहीका लागि बैंक परिवर्तन भएपछि उनीहरु समस्यामा परेका हुन् ।
पन्ध्र वटा वडा रहेको यस नगरपालिकामा सालपा विकास बैंकले यस आवदेखि ५, ६, ७, ८, १० र ११ वडामा भत्ता वितरण नगर्ने भएको हो । वडा नं ८ दोर्पाबुवालुङमा नबिल बैंक र वडा नं ११ खार्मीमा एनआइसी एसिया बैंकले सामाजिक सुरक्षाभत्ता वितरण गर्ने सहमति गरे पनि सम्झौता गर्न नआएको नगरपालिकाले जनाएको छ ।
गत साउन १ गते नगरपालिका र बैंकबीच सहमति भएको थियो । तर बैंकहरू कार्यान्वयनका लागि नआएपछि भदौ ८ गते लिखित रूपमा बैंकलाई पत्राचार गरिएको प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए ।
राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता वितरण गर्ने बैंक टुङ्गो नलागेपछि लाभग्राहीहरू खाता खोल्न भनेर दिक्तेल आए पनि फर्कन बाध्य भएका छन् । भत्ता वितरण गर्ने बैंक टुङ्गो लागेका वडाका लाभग्राहीका लागि पनि नयाँ खाता खोल्न बैंकले अनिवार्य राष्ट्रिय परिचयपत्र लागू गरेपछि झनै समस्यामा परेका छन् ।
राज्यले उपलब्ध गराउँदै आएको सेवा उपभोग गर्न सास्ती भोग्नुपरेको रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ७८ वर्षीय लाभग्राही ज्ञानबहादुर राईले दुःखेसो सुनाए ।
अपाङ्गता भएका व्यक्ति, ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र १६ वर्षमुनिका बालबालिकाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छैन । तर, सामाजिक सुरक्षाभत्ता तथा बैंकिङ कारोबारका लागि जिल्लामा सञ्चालित सबै बैंकले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि लाभग्राही समस्यामा परेका हुन् ।