पाटा ट्राभल मार्ट २०२५ मा नेपाल पभेलियन विशेष आकर्षण

टुरिजमफेस
काठमाडौं । थाइल्यान्डको बैंककमा आयोजित पाटा ट्राभल मार्ट २०२५ मा नेपाल पभेलियन विशेष आकर्षण बनेको छ । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले विभिन्न संस्थाको सहकार्यमा अगस्ट २६ देखि २८ सम्म बैंककस्थित क्विन सिरिकिट नेशनल कन्वेन्सन सेन्टरमा सम्पन्न पाटाको प्रमुख अन्तर्राष्ट्रिय बीटुबी ट्राभल ट्रेड इभेन्ट— पाटा ट्राभल मार्ट २०२५ मा नेपाल पभेलियनमार्फत विशेष आकर्षण, पर्यटन प्रवर्द्धनमा उल्लेखनीय ब्रान्ड पहिचान स्थापित गरेको छ ।
मार्टमा ५० भन्दा बढी गन्तव्यका एक हजार बढी प्रतिनिधिहरू सहभागी भएका थिए । ३० गन्तव्यका २२५ संस्थाबाट ४०० भन्दा बढी बिक्रेताहरूले सहभागिता जनाएका थिए । जसमध्ये आधा भन्दा बढी बिक्रेताहरू पहिलो पटक सहभागी भएका थिए । त्यसैगरी ४१ वटा प्रमुख स्रोतबजारका २१८ संस्थाबाट २२५ क्रेता उपस्थित भएका थिए ।
विविध नेपाली पर्यटकीय उपजहरू सहित स्तूपा–थिममा सुसज्जित नेपाल पभेलियन सम्पूर्ण प्रदर्शनीबीच अत्यन्तै आकर्षक र मनमोहक बनेको थियो । यसले अन्तर्राष्ट्रिय खरिदकर्ता र प्रदर्शकहरूको ध्यान खिचेको आयोजकको भनाइ छ । पर्वतारोहण, पदयात्रा, आध्यात्म, वेलनेस, लक्जरी ट्राभल, समुदाय–आधारित पर्यटन र अन्य जीवन परिवर्तनकारी अनुभवहरू लगायत नेपालका विविध पर्यटन आयामहरूको प्रस्तुतिकरणले नेपाल पभेलियन एक जीवन्त मन्च बन्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सार्वजनिक–निजी साझेदारीको सफल र सशक्त मोडललाई अन्तर्राष्ट्रिय स्तरमा उजागर भएको दावी गरिएको छ ।
पाटा ट्राभल मार्टमार्फत आगामी वर्ष २०२६ जुन २ देखि ४ सम्म काठमाडौंमा आयोजना हुने नेपालकै प्रमुख अन्तर्राष्ट्रिय यात्रा तथा व्यापार प्रदर्शनी मेलाको रूपमा स्थापित हिमालयन ट्राभल मार्टको छैटौं संस्करणको पनि प्रवर्द्धन गरिएको छ ।
उद्घाटन समारोहमा पाटा अन्तर्राष्ट्रिय अध्यक्ष पिटर सेमोनले जीवन्त सहर बैंककमा आयोजित पाटा ट्राभल मार्ट २०२५ सबै एशिया–प्रशान्त क्षेत्रमा यात्रा र पर्यटनको भविष्यलाई जोड्न, सहकार्य गर्न र सामूहिक रूपमा आकार दिन एकत्रित भएको बताए ।
नेपालको सहभागिताबारे प्रतिक्रिया दिँदै पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले यो वर्ष पाटा नेपाल च्याप्टर स्थापना (१९७५) देखि नेपालमा सार्वजनिक–निजी साझेदारीको ५० औं वर्ष विविध नवीन एवं रचनात्मक कार्यक्रम सहित मनाइरहेको परिवेशमा ६ वर्षपछि पर्यटन बोर्डसँगै पाटा ट्राभल मार्टमा सहभागिता अत्यन्तै प्रभावकारी र सार्थक बनेको बताए । यस पटक, प्रकृति, संस्कृति र साहसिक पर्यटन सँगसँगै, वेलनेस, लक्जरी र समुदाय–आधारित पर्यटनको प्रवर्द्धन गर्न ध्यान केन्द्रित भएको बताए ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरेले पाटा ट्राभल मार्टमा नेपालको सामूहिक उपस्थिति अत्यन्तै प्रभावकारी र फलदायी रहेको बताए । स्काल इन्टरनेशनल नेपालका अध्यक्ष रमेश लुइँटेलले नेपाल पर्यटन बोर्ड र पाटा नेपाल च्याप्टरबीचको उत्कृष्ट समन्वयले नेपाललाई अत्यन्तै आकर्षक र प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए ।