दशैँ मनाउने बागलुङका माझी समुदाय किन राख्दैनन् जमरा ?

टुरिजमफेस
गलकोट । बडादशैँलाई महत्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल शुरू भइसकेको छ । घटस्थापनामा जमरा राखेर दशैँ शुरू भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्छ ।
जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रंगाउने प्रचलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाको एक माझी समुदायमा भने अझै दशैँको चहलपहल छैन । घटस्थापनाको दिन राखेको जमरा विजयादशमीको दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन भए पनि जमरा नराखी माझी समुदायले दशैँ मनाउने गरेका छन्। जमराबिना दशैँ मनाउने अनौठो परम्परालाई यहाँका माझी समुदायले वषौँदेखि निरन्तरता दिँदै आएका छन्।
जमरा राखे नराम्रो घटना घट्ने भन्दै दुई पुस्ताभन्दा पहिलेदेखि जमरा नराखी नै दशैँ मनाउँदै आएको माझी समुदायका अगुवाको भनाइ छ । घरमा जमरा राखे दशैँ नै अशुभ हुने परम्परागत मान्यताका आधारमा जमरा नराखी दशैँ मनाउने गरेको स्थानीय देउकुमारी माझीले बताए। पिता पुर्खाले भनेअनुसार अनिष्ट हुने खतरा टार्नका लागि दशैँमा जमरा नराख्ने गरिएको उनको भनाइ छ । करिब १५० वर्षअघिसम्म जमरा राखे पनि पछि अनिष्ट हुन थालेपछि जमरा राख्न छोडिएको भन्ने गरिएको माझीले बताए ।
यो समुदायमा जमरा राखेपछि घरकी कन्याको मृत्यु भएको किंवदन्तीअनुसार जमरा राख्न छोडिएको बताइन्छ । यहाँको खनियाबास र मालढुंगामा बस्ने माझीहरूले घरमा जमरा नराखे पनि नजिकको मन्दिरबाट जमरा लगेर दशैँ भने मनाउँदै आएका छन्। “जमरा राख्दा घरकी कन्याको मृत्यु भएको र जमरा नराख्दा मृत्यु हुन छोडेको किंवदन्तीअनुसार जमरा राख्ने चलन छोडिएको बताइन्छ, तर दशैँ भने मनाउँदै आएका छौँ,” माझीले भने।
स्थानीय कृष्ण माझीले जमरा नराख्ने चलनमा यहाँका समुदायको साझा सहमति रहेको बताए। जमरा राखेपछि लगातार छोरीचेलीको मृत्यु भएर दशैँ रोकिएकाले जमरा राख्न छोडिएको हो भनेर पुर्खाहरूले भन्दै आएकाले पछिल्लो पुस्ताले पनि त्यसलाई निरन्तरता दिएको उनले सुनाए ।
खनियाबास र मालढुंगामा माझी समुदायका २० परिवारको बसोबास छ । पुर्खौंदेखि कालीगण्डकी नदीमा माछा मार्ने, डुंगा खियाउने र बालुवा निकालेर गर्जो टार्दै आएका यहाँका माझीहरूले पछिल्लो समय पेसा परिवर्तन गर्न थालेका छन् ।