दशैं मनाउन घर जाने यात्रु अलमलमा– गाडीमा जाँदा बाटोमै जाम, हवाई टिकट प्याक
काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा पार्किङ गरिएका जहाज ।
टुरिजमफेस
काठमाडौं । यसपटकको दशैं मनाउन राजधानी काठमाडौंबाट देशका विभिन्न स्थानमा जाने यात्रुलाई निकै सकस भइरहेको छ । वर्षमा एक पटक आउने दशैं मनाउन बसमा घर जाँदा बाटोमा जाम पर्ने खतरा रहेको छ भने हवाई टिकट पाउन मुश्किल छ । हवाई टिकट पाइहाले पनि निकै महँगो भएको यात्रुहरूले गुनासो गरेका छन् ।
कतिपय मुख्य गन्तव्यमा नै हवाई टिकट पाउन नसकिएको उनीहरूको गुनासो छ । दुईदिनदेखि नेपालगन्ज जाने प्रयास गरिरहेका विकास खड्काले एकातिर मुग्लिन–नारायणगढ सडक अवरुद्ध भइरहेको र अर्कोतर्फ आउँदो सोमवारसम्म सबै जहाजका हवाई टिकट प्याक भइसकेकाले नियास्रो लागिरहेको बताए । ‘दशैंमा घर गएर आमाबुवासँग रमाउला भन्ने लागेको थियो,’ उनले टुरिजमफेससँग भने, ‘तर घर जाने उपाय नै निस्किएको छैन ।’
काठमाडौंबाट नेपालगन्ज जानलाई आउँदो मंगलवारपछि मात्र हवाई टिकट उपलब्ध रहेको छ । त्यो टिकट पनि निकै महँगो भएको उनको भनाइ छ । दुई सन्तान र पति, पत्नी घर जाँदा र फर्कदा यूरोप पुग्ने जस्तो खर्चिलो हुँदा अत्यास लागिरहेको उनले बताए । एकातिर देशमा आम्दानीको स्रोत छैन अर्कोतिर सबैतिर महँगी नै महँगी रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा देशमा एकपछि अर्को समस्या थपिँदै जाने बताए । यो वर्षको विजयादशमी असोज १६ गते बिहीवार परेको छ ।
काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा पार्किङ गरिएका जहाज ।
